26th September | 2020 | Saturday | 7:56:22 PM

नेकपाबाट अन्तरपार्टी निर्देशन–५ जारी, प्रतिष्ठानका नाममा गतिविधि गर्न रोक

  POSTED ON : भदौ ३१, २०७७ (८:४४ AM)

नेकपाबाट अन्तरपार्टी निर्देशन–५ जारी, प्रतिष्ठानका नाममा गतिविधि गर्न रोक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–५ जारी गरेको छ । भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयका आधारमा नेकपाले अन्तरपार्टी निर्देशन जारी गरेको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रूपमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टी मातहतका सबै कमिटीलाई अन्तरपार्टी निर्देशन जारी गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

उहाँले पार्टीभित्र देखिएका समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी स्थायी कमिटी बैठकले सुझावसहित पारित गरेको आधारमा अन्तरपार्टी निर्देशन जारी गरिएको बताउनुभयो । अन्तरपार्टी निर्देशनमा पार्टीलाई जीवन्त बनाउने कुराहरू समेटिएका छन् । अन्तरपार्टी निर्देशनमा १६ बुँदे निर्देशनहरू उल्लेख छन् ।

नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघसंस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गतिविधि गर्न रोक लगाउने निर्देशन दिएको हो । पार्टी एकताको महŒवलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषयहरू निर्देशनमा समेटिएका छन् ।

यस्तै, अन्तरपार्टी निर्देशनमा सरकारका कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाइने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाइने, नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनःरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्नेलगायत छन् ।

अध्यक्षद्वय ओली–दाहालद्वारा जारी अन्तरपार्टी निर्देशनमा पार्टीमा देखिँदै आएको अनुशासनहीनतालाई कडाइका साथ नियन्त्रण गर्ने उल्लेख छ । ‘आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुशासित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण गर्दछ,’ अन्तरपार्टी निर्देशनमा भनिएको छ ।

नेकपाले नेता–कार्यकर्ताहरूलाई विगतमा पार्टीभित्र देखिएको अन्तर्विरोध र अनुभवहरूबाट शिक्षा लिन, पार्टी एकताको मर्म, भावना तथा पार्टी एकताका क्रममा भएका सहमतिहरू र संस्थागत रूपमा तय गरिएका नीति, विचार, विधि तथा पद्धति अनुशरण र कार्यान्वयन गर्दै अघि बढ्न पनि निर्देशन दिएको छ ।

अध्यक्षद्वय ओली–प्रचण्डले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलाई विधि, पद्धति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्युनिस्ट पार्टीको जीवन, विचार र विधिमा आधारित भएर पार्टीमा देखिने समस्या समाधानका लागि संस्थागत प्रणाली खोज्ने मान्यतालाई व्यवहारमा स्थापित गर्ने अठोट पनि व्यक्त गर्नुभएको छ । उहाँहरूले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई आ–आफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा गल्ती, कमजोरीहरू दोहोरिन नदिनसमेत निर्देशन दिनुभएको छ । 

उहाँहरूले पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न, नीति, विधि र पद्धति स्थापित गर्न र नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूको कार्यशैली र जीवनशैलीलाई मार्गदर्शन गर्न विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाइका साथ लागू गर्ने बताउनुभएको छ । ओली–दाहालले पार्टीको शक्ति र सामथ्र्यलाई ठीक ढंगले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखापर्दै, हुर्किंदै र कटूतापूर्ण बन्दै गएको स्वीकार पनि गर्नुभएको छ । संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृत्ति झांगिँदै जाँदा नेकपामा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहीनता फैलिँदै गएको उहाँहरूको ठहर छ ।


Views: 44