26th September | 2020 | Saturday | 9:41:58 PM

कांग्रेसमा कोरोनाबीच कसरी महाधिवेशन गर्ने भन्ने बहस

  POSTED ON : भदौ ३१, २०७७ (८:४६ AM)

कांग्रेसमा कोरोनाबीच कसरी महाधिवेशन गर्ने भन्ने बहस

काठमाडौं । नेपाली कांग्रेसमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबीच कसरी महाधिवेशन गर्ने भन्ने बहस सुरु भएको छ । १४औं महाधिवेशनको कार्यतालिका महामारीका कारण प्रभावित भएपछि कांग्रेसमा महामारीकै बीचमा कसरी महाधिवेशन गर्ने भन्ने बहस सुरु भएको हो ।

‘कांग्रेस पाठशाला’ नामक संस्थाले ‘के हुन सक्छ महामारीबीच महाधिवेशन गर्ने तरिका’ विषयमा ‘भर्चुअल’ अन्तरक्रिया गरेर महामारीकै बीचमा कसरी महाधिवेशन गर्ने भन्ने बहस प्रारम्भ गरेको छ । ‘कांग्रेस पाठशाला’ले मंगलबार कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक, गगन थापा, जीवन परियार र महालक्ष्मी उपाध्याय ‘डिना’ लाई वक्ताका रूपमा निम्त्याएर ‘भर्चुअल’ अन्तरक्रिया गरेको हो ।

‘भर्चुअल’ अन्तरक्रियामा कांग्रेस केन्द्रीय सदस्यहरूले अहिलेको कार्यतालिकाअनुसार आगामी फागुन ७–१० मा महाधिवेशन सम्पन्न गर्न असम्भव रहेको बताएका छन् । सदस्यहरूले पार्टीले केन्द्रीय कार्यसमिति बैठक डाकेर तत्काल कार्यतालिका पुनःपरिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । 

गत असार २२ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले तय गरेको महाविधेशन कार्यतालिका पुनः परिमार्जन गर्दा अहिलेकै अवस्था रहिरहे पनि महाधिवेशन सम्पन्न गर्नका लागि विकल्पहरूबारे छलफल गर्न आवश्यक रहेकोमा सदस्यहरूको जोड छ । ‘अधिवेशनको कार्यतालिका बनाएर वैशाखभन्दा अगाडि नलैजाने गरी कहाँ–कहाँ ग्याप भयो त्योअनुसार अगाडि बढाउँदै गर्दा कोरोना संक्रमणका कारण एक ठाउँमा जम्मा हुने अवस्था भएन भने वैकल्पिक तरिका अपनाएर यसरी अधिवेशन गर्छौं भनेर पनि सँगसँगै काम अगाडि बढाउनुपर्छ,’ नेता थापाले भन्नुभयो ।

केन्द्रीय सदस्य लेखकले महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्दै महाधिवेशनका लागि निर्वाचन प्रक्रियालाई विकेन्द्रीकरण गर्नुपर्नेमा जोड दिनुभयो । ‘काम गर्दै जाऔं, फागुनमा हुँदैन भदौसम्ममा जसरी गर्दै आएका छौं त्यसरी नै महाधिवेशन गरौं । महामारीको अवस्था अहिलेकै जस्तो रहे हामी निर्वाचनलाई विकेन्द्रीकरण गर्न सक्छौं,’ उहाँले भन्नुभयो, ‘यो भनेको हामी अहिले एकै ठाउँमा आएर महाधिवेशन प्रतिनिधिहरू आएर मतदान गर्छौं, त्यसलाई १६५ निर्वाचन क्षेत्रमा मतदानको व्यवस्था गरौं ।’

अर्का केन्द्रीय सदस्य परियारले महाधिवेशन कार्यतालिका परिमार्जनको विकल्प नरहेको धारणा राख्दै १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन विकेन्द्रीकरण गरेर महाधिवेशन सम्पन्न सम्भव रहेको बताउनुभयो । नेता परियारले नेपाल बार एसोसिएसनको निर्वाचन पद्धति स्मरण गराउँदै कांग्रेसको महाधिवेशन पनि त्यही शैलीमा गर्न सकिने बताउनुभयो । 

केन्द्रीय सदस्य उपाध्यायले पनि कोभिड–१९ को संक्रमण अहिलेकै अवस्थामा रहिरहे वैकल्पिक व्यवस्था गरेर भए पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो । महाधिवेशन सम्पन्न गर्नका लागि कांग्रेसले अहिलेसम्म नयाँ नेतृत्व चयनका लागि गर्दै आएको महाधिवेशनको शैली परिवर्तन गरेर निर्वाचन प्रक्रियालाई विकेन्द्रीकरण गर्नुपर्ने बताउनुभयो । 


Views: 52