26th September | 2020 | Saturday | 10:18:38 PM

शैक्षिक सत्र पूरा गर्नेगरी पाठ्यक्रमलाई खुम्च्याएर सार्वजनिक

  POSTED ON : भदौ ३१, २०७७ (८:५४ AM)

शैक्षिक सत्र पूरा गर्नेगरी पाठ्यक्रमलाई खुम्च्याएर सार्वजनिक

काठमाडौं । शैक्षिक सत्र पूरा गर्नेगरी पाठ्यक्रमलाई खुम्च्याएर सार्वजनिक गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा एकदेखि १० कक्षासम्मको पाठ्यक्रमलाई खुम्च्याएर मंगलबार नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको हो । कोरोना भाइरस (कोभिड–१९)का कारण जारी निषेधाज्ञा र लकडाउनले पढाइ प्रभावित भएपछि सरकारले चालु शैक्षिक सत्र आगामी चैत महिनामै समाप्त गर्ने गरी नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको हो । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा उक्त पाठ्यक्रम सार्वजनिक गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रमअनुसार अब बाँकी रहेको सात महिनाभित्रमै यो वर्षको पठनपाठन पूरा हुने बताउनुभयो । 

संश्लेषित पाठ्यक्रमलाई दुई भागमा विभाजन गरिएको छ । जसमा विद्यार्थीले आफैँ पढेर नबुझेका कुरा शिक्षकलाई सोध्न सक्ने तथा घरैमा पढेर अभिभावकको सहयोगमा पनि हल गर्न सक्ने गरी विभाजन गरिएको बताइएको छ । विद्यार्थीलाई दिइने गृहकार्य, विभिन्न प्रकारका परियोजना कामलगायतलाई पनि पाठ्यक्रमसँग जोडिनेछ । कार्यक्रममा शिक्षामन्त्री पोखरेलले जसरी भए पनि विद्यार्थीको सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्छ भन्ने मान्यताका आधारमा संश्लेषित पाठ्यक्रम जारी गरिएको बताउनुभयो । 

सबै विद्यार्थी सहभागी हुन नसके असोज १ गतेबाट पनि वैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिने मन्त्रालयको योजना छ । अनलाइन, टेलिभिजन, रेडियो तथा पाठ्यपुस्तकको आधारमा वैकल्पिक पढाइ सुरु भएको छ । यसलाई प्रभावकारी बनाउन मन्त्रालयले विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने वा अन्य डिभाइस उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको छ ।


Views: 21