25th September | 2020 | Friday | 10:45:47 PM

एक व्यक्ति एक जिम्मेवारी तलसम्म लागू गर्नुपर्छ : नेता नेपाल

  POSTED ON : भदौ ३१, २०७७ (११:५० PM)

एक व्यक्ति एक जिम्मेवारी तलसम्म लागू गर्नुपर्छ : नेता नेपाल

काठमाडौं । सतारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्व यतिबेला आएर मत्थर भएको छ । गत जेठ महिनादेखि बढ्दै गएको आन्तरिक द्वन्द्व भदौ २५ मा आएर शान्त भएको देखिएको छ । पार्टीमा एक व्यक्ति एक पदका विषयमा कुरा उठेको थियो । पार्टीको स्थायी कमिटीले लामो समयदेखिको विवाद समाधान गरेको भए पनि नेताहरूका अभिव्यक्तिबाट अझै पूर्णरूपमा समाधान भएको भने देखिँदैन ।

पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलका अन्य सदस्यमा नेताहरू डा. भीमबहादुर रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे रहनुभएको थियो । ६ सदस्यीय कार्यदलले पार्टीको जारी विवाद समाधान गर्नका लागि प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले १७ बुँदा फरक मत राख्नुभएको थियो । माधव नेपालले त्यसलाई फरक मत नभएर सुझाव भन्नुभएको छ । पार्टीको सहमतिको दस्तावेजलाई स्थायी कमिटीले पास गरेको छ । नेकपाको स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको भनिएको छ । स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि तत्कालका लागि विवाद टुंगिएको हो । कार्यदलको सुझावलाई थप गृहकार्य गरी अध्यक्षद्वयको कार्याविभाजनसहित ठोस कार्ययोजना प्रस्ताव प्रस्तुत गरेपछि बैठकले छलफलसहित पारित गरेको थियो । बैठकमा नेता माधवकुमार नेपालले भने विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति ः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेको जनाउँदै असहमति जनाउनुभएको थियो । 

आगामी चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने पूर्ववत निर्णयलाई पुनः तय गरिएसँगै  चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने भएको छ । यसअघि पार्टीको केन्द्रीय कमिटीले पनि यसबारे सोही मितिमा गर्ने निर्णय गरेको थियो । महाधिवेशनको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरिएको छ । असार १० गते बालुवाटार छिर्दै गर्दा जुन बिमति थियो भदौ २५ गते बाहिर निस्कँदा ती अब निमिट्यान्न पार्नुपर्छ भन्ने मान्यताबाट अगाडि बढेको वरिष्ठ नेता माधव नेपालले बताउनुभएको छ । उहाँले अब भावनात्मक रूपमा त एक गर्दै जानुपर्छ भन्दै त्यसको निम्ति माथिबाट नै प्रयत्न गर्दै जानुपर्छ भन्नुभयो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई नेकपा गठन भएको थियो । 

न्युज एजेन्सीसँग कुरा गर्दै नेता नेपालले एक व्यक्ति एक जिम्मेवारी भन्ने कुरा त तलसम्म लागू गर्नुपर्ने बताउनुभएको छ । ‘नभए उही व्यक्ति मेयर छ र उही व्यक्ति त्यहाँको प्रमुख छ । उसलाई कामको जिम्मेवारी दिइएको छ अनि उसको कामको अनुगमन गर्ने ठाउँमा पनि आफैँ बसेको छ । अनुगमन पनि आफैँ गर्दैछ लागू पनि आफैँ गर्दैछ । त्यसमा चेक एण्ड ब्यालेन्सको सिस्टममा जानुपर्छ’ उहाँले भन्नुभयो । कम्युनिस्ट पार्टीभित्र पनि चेक एण्ड ब्यालेन्सको सिस्टम हुनुपर्दछ । पार्टीमा दुईवटा अध्यक्ष भएको हुनाले सजिलो भएको छ नेता नेपालले भन्नुभएको छ । 


Views: 14