21st October | 2020 | Wednesday | 8:12:21 AM

सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीलाई कारबाही गर्न अख्तियारको निर्देशन

  POSTED ON : आश्विन ९, २०७७ (९:१६ AM)

सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीलाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजारभन्दा बढी सरकारी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरेको छ । आयोगको बिहीबार बसेको बैठकले १७ हजार २०८ जना कर्मचारीहरूलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सहसचिव तारानाथ अधिकारीले जानकारी दिनुभयो । 

राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त आर्थिक वर्ष ०७५–०७६ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदनउपर आयोगको बैठकमा छलफल गरी कारबाहीका लागि सम्बन्धित मन्त्रालय र सरकारी निकायलाई निर्देशन दिइएको हो ।

सम्पत्ति विवरण नबुझाउने प्रत्येक कर्मचारीलाई पाँच हजार रुपैयाँ जरिवाना गरी तोकिएको निकायमा सम्पत्ति विवरण पेश गर्न–गराउन र सोको एकमुष्ट जानकारी आयोगमा पठाउन भनिएको छ । कारबाही सिफारिस भएका सबै कर्मचारीहरूलाई जरिवाना गरिएमा आठ करोड ६० लाख ४० हजार रुपैयाँ सरकारी खातामा जम्मा हुने देखिन्छ । 

सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने कर्मचारीहरूमा संघीय तहका निजामति कर्मचारी तर्फका दुई हजार ५०४ जना, नेपाल प्रहरीतर्फका १११ जना, शिक्षकतर्फका सात हजार ६१३ तथा निजामती, सैनिक, प्रहरी र स्थायी शिक्षकबाहेकका अन्य पदाधिकारी कर्मचारीहरू एक हजार ४३२ जना पदाधिकारी–कर्मचारीहरू छन् । त्यस्तै विदेशमा रहेका भनी लेखी आएका नेपाली सेनाका ४६० जना रहेका छन् । उनीहरूको हकमा नियमानुसारको अवधिभित्र सम्पत्ति विवरण भर्ने–भराउने व्यवस्थाका लागि सम्बन्धित निकायमा लेखी पठाउन भनिएको छ । राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त विवरणअनुसार प्रदेश तहमा सम्पत्ति विवरण नबुझाउने ५५४ जना सार्वजनिक पद धारण गरेका व्यक्तिहरू पनि छन् ।


Views: 49