31st October | 2020 | Saturday | 3:25:39 AM

हुम्लाको सीमा अध्ययन प्रतिवेदन सार्वजनिक गर : कांग्रेस

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७७ (८:३० PM)

हुम्लाको सीमा अध्ययन प्रतिवेदन सार्वजनिक गर : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लाको सीमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।  

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग गर्नुभएको हो ।

उहाँले सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराख्न सरकारलाई सचेत गराउनुभएको छ । वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली फर्किएको २४ घण्टा पुग्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिनुलाई रहस्यमय भएको प्रवक्ता शर्माको दाबी छ ।

‘स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ,’ विज्ञप्तिमा भनिएको छ ।   

सीमा समबन्धी परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रमुख जिल्ला अधिकारीलाई स्पष्टिकरण र स्थलगत अध्ययनको विवरणसमेत सार्वजनिक गर्न गरिएको ढिलाइले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको प्रवक्ता शर्माको भनाइ छ । 




Views: 62