21st October | 2020 | Wednesday | 7:20:20 AM

सञ्चार माध्यमलाई चिसिक्क भयो भने, खपिसक्नु हुँदैन : प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : आश्विन १४, २०७७ (९:११ PM)

सञ्चार माध्यमलाई चिसिक्क भयो भने, खपिसक्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मिडिया सम्पादकहरुसँग गुनासो पोख्नु भएको छ । हालसालै गठन भएको मिडिया एलायन्सका पदाधिकारीहरुसँगको भेटमा उहाँले गुनासो पोख्नु भएको हो ।

 बुधबार साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले सञ्चार माध्यमका सम्पादकहरुसँग गुनासो रहेको बताउनु भयो । 

उहाँले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताउनुभयो । सञ्चार माध्यमले सरकारलाई दिनहुँ गाली गर्दा सहनुपर्ने तर सञ्चार माध्यमलाई आफुले एकपटक सुझाव दिँदा नसहने प्रवृति देखिएको प्रधानमन्त्री ओलीले बताउनु भएको थियो । 

सरकारलाई दिनरात गाली गर्दा सहनुपर्छ भनेर सुझाव दिने सञ्चार माध्यमले पनि सहने शक्तिको विकास गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘यो सञ्चार जगत यस्तो हो, अरु जसलाई जे भनेपनि छुट पाइन्छ, सञ्चार माध्यमलाई अलिकति चिसिक्क भयो भने खपिसक्नु हुँदैन । एकदम सेन्सेटिभ नी ! यसो छोयो भने देखि बुरुक्क उफ्रिहाल्ने । करेन्ट लागेजस्तो । अलि अगाडि मसँग सञ्चारकर्मीहरुका सम्पादकहरु ले भेट्नु भयो। तर उहाँहरुले मलाई हामीलाई यसो किन भन्नुभयो ? भनेर भन्नुभयो । मैले भनेँ तपाईहरुलाई दिनरात गालिगर्दा हुन्छ । मैले अलिकति भनेँ भने तपाईहरु दिनरात गाली गर्ने, मैले किन यसो ग¥यौ भन्दा सहनुपर्छ भनेर सिकाउने ? अनि मैले अलिकति भन्दा सहन नसक्ने के हो यो ? आफुले भनेको भन्यै गर्ने, यसो नगर्नुस् न भन्दा, सहन सिक्नुपर्छ भन्ने । मैले अलिकति सुझाव दिए भने सहन्न भनिहाल्ने ?’ प्रधानमन्त्री ओलीले नेपालमा अगाडि बढ्न चाहनेहरुको खुट्टा तान्ने प्रवृति रहेको पनि बताउनुभयो ।  बाकसमा रहने भ्यागुताको उदाहरण दिदै कोही पनि अगाडि बढ्न नसक्ने गरी खुट्टा तान्ने प्रवृति रहेको उहाँको भनाइ थियो । 

मिडिया एलाइन्स नेपालको प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग भेट गरी सञ्चार माध्यमहरुले भोगिरहेका समस्या बारे अवगत गराएको थियो । भेटमा प्रधानमन्त्री ओलीले सञ्चार माध्यमको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

कोरोना महामारीका  कारण सञ्चार माध्यमहरु समेत संकटमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार सञ्चार माध्यमको संरक्षणका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।

ओलीले कतिपय सञ्चार माध्यमले सरकार विरुद्ध भ्रम फैलाउने काम गरिरहेको गुनासो गर्दै सरकार सञ्चार माध्यमको विरोधी नभएको बताउनु भयो । प्रधानमन्त्री ओलीले श्रमजिवि पत्रकारहरुले न्युनतम पारिश्रमिकका लागि समेत संघर्ष गरिरहनु परेकोमा दुःख समेत व्यक्त गर्नु भएको थियो । उहाँले सञ्चार गृहहरुलाई श्रमजिवि पत्रकारको हक नमार्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मिडियाकर्मीहरुसँग विज्ञापन बोर्डको गठन छिट्टै हुने प्रतिवद्धता समेत जनाउनुभयो । बोर्ड गठन नहुँदा सम्म अन्य कुनै सरकारी संयन्त्रबाट बिज्ञापन बजारको नियमन गरिने प्रधानमन्त्रीले बताउनु भयो ।




Views: 119