31st October | 2020 | Saturday | 9:51:25 PM

सशस्त्र प्रहरीका लागि धमाधम बीओपी स्थापना हुँदै

सुरेन्द्र भण्डारी   POSTED ON : कार्तिक १, २०७७ (९:४३ AM)

सशस्त्र प्रहरीका लागि धमाधम बीओपी स्थापना हुँदै

झापा । सीमाको सुरक्षा र अपराध नियन्त्रणका लागि  १ नम्वर प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७÷०७८ मा झापासहित पूर्वका १४ जिल्लामा सशस्त्र प्रहरीको २२ वटा वीओपी (बोर्डर आउट पोष्ट) स्थापना गर्ने लक्ष्य लिएको छ । 

सोही लक्ष्यअनुरुप झापामा यो वर्ष नौवटा बीओपी स्थापना हुँदैछन् । जसमा कचनकवल गाउँपालिका–५ पाठामारी र मेचीनगर १५ ज्यामिरगढीमा सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट बीओपी स्थापना भएका छन् । 

पूर्वाेत्तर झापाको सीमा क्षेत्रको निगरानी र अवैध चोरी पैठारी रोक्न ज्यामिरगढीमा स्थापना गरिएको बीओपीको उद्घाटन मेची नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले गर्नुभयो । 

वीओपी उद्घाटन समारोहमा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले झापाकोे १४४ दशमलव २ किलोमिटर क्षेत्रफल खुला सीमा रहेकाले विभिन्न खालका आपराधिक गतिविधि हुने हुँदा यस्ता वीओपी स्थापना गर्दा आपराधिक गतिविधिमा स्वतः कमी आउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले अबैध हातहतियार, लागूऔषध, मानव बेचविखनलगायतका आपराधिक गतिविधि न्यूनीकरणसँगै  सीमाको उचित रेखदेख  हुने धारणा राख्नुभयो । 

यता, सशस्त्र प्रहरी बल नेपाल, प्रदेश १ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले स्थानीय पालिकाहरू  र सर्वसाधारणसँग सहकार्य गर्दै जिल्लाको पूर्वाेत्तर क्षेत्र मेचीनगर–१ तिरिङदेखि पश्चिम दक्षिण भारतीय सिमावर्ती क्षेत्र गौरीगञ्ज गाउँपालिका–२ आँपगाच्छीसम्मको १४४.२ किलोमिटर क्षेत्रफलमा नौवटा बीओपी स्थापना गर्न लागिएको बताउनुभयो । जसका लागि थप चार ठाउँमा वीओपी स्थापना गर्न स्थानीय दाताबाट जमिन प्राप्त भइसकेको र टेन्डर प्रक्रिया अघि बढाइएको गएको दाहालले बताउनुभयो । 

झापामा यो वर्ष कचनकवल गाउँपालिका–५ पाठामारी, मेचीनगर–१५ ज्यामिरगढी  सहित भद्रपुर नगरपालिका– ५ भन्सार कार्यालय, झापा गाउँपालिका– ५ पन्थापाडा, मेचीनगर–१ तिरिङ, गौरीगञ्ज गाउँपालिका–२ आँपगाछी, भद्रपुर नगरपालिका–३ महेशपुर, मेचीनगर–५ नकलबन्धालगायतका स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माण हुन लागेको सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालको भनाइ छ । 

यसैबीच, संघीय सरकारबाट आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ को वजेटले सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापामा तीन वटा भवन निर्माण गरिएको छ । निर्माणाधीन भवनमध्ये महिला ब्यारेक ३१ लाख ८५ हजार, जवान व्यारेक ४० लाख २४ हजार र मेस ब्लक १९ लाख ७५ हजार रुपैयाँमा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार पाण्डेले बताउनुभयो । 

झापामा सशस्त्र प्रहरी बल नेपाल दुई गण नम्बर हेटक्वाटरले १३ वर्षपछि सुविधा सम्पन्न भान्सा घर, प्रहरी जवान र महिला ब्यारेक निर्माण गरेको हो । झापामा थप नौं स्थानमा वीओपी स्थापनासंगै चुनौतिका रुपमा रहेको अवैध हातहतियार, लागू औषध ओसारपसार  र मानव बेचबिखन नियन्त्रणमा समेत सहज हुने भएको छ ।

झापामा  यसअघि बाहुनडाँगी, काँकरभिट्टा, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैररीगञ्ज, घेरावारी कुञ्जिवारी, पृथ्वीनगर मा १० वटा  वटा सशस्त्र प्रहरीको वीओपी (वोडर आउट पोस्ट) स्थापना भइसकेका छन् ।


Views: 20