31st October | 2020 | Saturday | 10:40:38 PM

हत्याको घटनामा जाहेरी नलिएपछि सर्लाही कांग्रेस आन्दोलित

प्रकाश मैनाली   POSTED ON : कार्तिक १, २०७७ (९:४५ AM)

हत्याको घटनामा जाहेरी नलिएपछि सर्लाही कांग्रेस आन्दोलित

सर्लाही । दलित अगुवा महेन्द्र रामको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बुधबार कांग्रेस नेता डा. अमरेशकुमार सिंहको नेतृत्वमा भएको प्रदर्शनमा झडप हुँदा सर्लाहीको मलंगवामा झडपको स्थिति बनेको थियो । जिल्ला प्रहरी कार्यालय अगाडि कांग्रेस कार्यकर्ताको समूह र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी चार दर्जनभन्दा बढी घाइते भएका थिए । 

दलित अगुवा महेन्द्र रामको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न गएको समूहलाई प्रहरीले रोक्न खोजेपछि झडपको स्थिति सिर्जना भएको थियो । 

सोही बिषयलाई लिएर शुक्रबार नेपाली कांग्रेसले  सर्लाहीको ४ नं. क्षेत्रका सबै गाउँमा विरोध प्रर्दशन गरेको छ । शुक्रबार ४ नं. क्षेत्रमा पर्ने सबै पालिकाका प्रत्येक वडामा मध्यान्ह टायर बालेर प्रदर्शन गरेको कांग्रेसले जनाएको छ ।

शुक्रबार भएको विरोध कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा.अमरेश कुमार सिंहसहितका नेताकोे उपस्थिति रहेको थियो ।

सिसौट घटनामा प्रहरीले पीडित परिवारले भनेका व्यक्तिहरूविरुद्ध मुद्दा दायर नगरेको सांसद डा. अमरेशकुमार सिंह, प्रदेश सभा सांसद वीरेन्द्र सिंहलगायतको दावी छ  । यता, प्रहरीले भने हत्याको घटनाका वास्तविक तीन जना दोषीलाई त्यति बेलै नै हिरासतमा लिएर अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।


Views: 20