31st October | 2020 | Saturday | 9:22:06 PM

कर्णालीका नेतालाई प्रधानमन्त्रीको आश्वासन -दुबै अध्यक्ष बसेर समाधान खोजिने

हिमालय टाइम्स   POSTED ON : कार्तिक १, २०७७ (७:२६ PM)

कर्णालीका नेतालाई प्रधानमन्त्रीको आश्वासन -दुबै अध्यक्ष बसेर समाधान खोजिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेर कर्णाली प्रदेशमा विकसित पछिल्लो घटनाक्रमको समाधान खोजिने  बताउनुभएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उहाँविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपाकै प्रदेशसभा सदस्यहरुसँग शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग छलफल गरेर समस्या समाधान गरिने बताउनुभएको हो ।

दुवै पक्षकाकुराहरुसुनिसकेपछि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालसँग छलफल गरेर कर्णाली प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटना क्रम समाधान गर्ने धारणा राख्नुभएको भेटमा सहभागी प्रदेशसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीज्यूले हामी सबैका कुरा सुनिसकेपछि अर्का पार्टी अध्यक्षज्यूसँग बसेर छलफल गर्छु र उपयुक्त निर्णय लिन्छु भन्नुभयो,’ प्रदेशसभा सदस्यशर्माले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले दुवै पक्षलाई पार्टीले गर्ने निर्णय मान्नुपर्नेसमेत बताउनुभएको छ । ‘पार्टी उपयुक्त निर्णय गर्छ, तपाईंहरुले पार्टीको निर्णय मान्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै शर्माले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले शनिबार दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गर्नुभएको थियो । छलफलमा मुख्यमन्त्री शाहीसहितका नेताहरुले आ–आफ्ना कुराहरु राख्नुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलका क्रममा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने समूहमा रहनुभएका प्रदेशसभा सदस्यहरुले पार्टी र सरकारबीच तालमेल नमिलेको, तीनै तहका सरकारहरु जनप्रिय हुन नसकेकाले सरकारहरुप्रति जनताको अपेक्षा र विश्वास घट्दै गएको धारणा राख्नुभएको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालले कर्णालीका मुख्यमन्त्री शाहीसँगै अन्य नेताहरुलाई काठमाडौं बोलाउनुभएको थियो ।

मुख्यमन्त्री शाही पक्षका नेताहरु बुधबार नै काठमाडौं आउनुभएको थियो भने कँडेल पक्षका नेताहरु बिहीबारमात्रै काठमाडौं आइपुग्नु भएको हो । 



Views: 52