30th November | 2020 | Monday | 4:35:03 AM

ओली र प्रचण्डका प्रेस सल्लाहकारका तर्फबाट परस्पर विरोधी विज्ञप्ति

हिमालय टाइम्स   POSTED ON : कार्तिक ४, २०७७ (७:४९ PM)

ओली र प्रचण्डका प्रेस सल्लाहकारका तर्फबाट परस्पर विरोधी विज्ञप्ति

काठमाडौं ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पदबाट हटाउने यामलाल कँडेललगायतका सांसदहरूको अविश्वासको प्रस्तावले नेकपामा विवाद बढाएको छ । 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली विवादको विषयमा मंगलबार बिहान छलफल भएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विवाद समाधानका लागि के सहमति भयो भन्ने विषयमा दुवैका तर्फबाट परस्पर विरोधी भनाई सार्वजनिक भएका छन् ।

ओली र प्रचण्डबीचको छलफलमा विवाद कायमै रहेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति जारी गर्नुभएको थियो । 

उहाँले कर्णालीको विवाद समाधानका लागि चार बुँदे सहमति भएको दाबी गर्नुभएको छ । 


थापाले मंगलबार जारी गर्नुभएको प्रेस नोट–

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –


१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।


३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,


४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा, प्रेस सल्लाहकार

४ कात्तिक २०७७


यता प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने प्रदेशको विवादबारे बालुवाटारमा त्यस्तो कुनै सहमति नभएको बताउँदै प्रेस नोट जारी गर्नु भएको छ ।


सापकोटाले मंगलबार जारी गर्नुभएको प्रेस नोट–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।


उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।


बिष्णुप्रसाद सापकोटा ‘जुगल’

प्रेस संयोजक

अध्यक्ष प्रचण्डका निजी सचिवालय

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सहमति भएको भनेर विज्ञप्ति जारी गरेपछि अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले पनि प्रेस नोट जारी गर्दै त्यो खालको चार बुँदे सहमति नभएको प्रष्ट्याउनु भएको छ ।


Views: 88