6th December | 2020 | Sunday | 4:35:54 AM

नेकपा अध्यक्षद्धयबीच संवाद गराउन नेताहरुको दौडधुप

हिमालय टाइम्स   POSTED ON : कार्तिक १४, २०७७ (७:१४ PM)

नेकपा अध्यक्षद्धयबीच संवाद गराउन नेताहरुको दौडधुप

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच पुनः दुरी बढेको छ  । उहाँहरुबीच केही दिनदेखि संवाद भएको छैन । संवादको वातावरणसमेत बन्न सकेको छैन । प्रधानमन्त्री ओलीका विश्वास पात्रहरु दुई अध्यक्षको स्थगित भएको संवाद र चिसिएको सम्बन्ध पुनः ताजकी गराउन कहिले खुमलटार त कहिले वालुवाटार धाइरहेका छन् ।

अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पुग्नु भएको थियो ।  उहाँहरूसँग प्रचण्डले प्रधानमन्त्रीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेर आफूलाई कर्नरमा पारेको गुनासो गर्नुभएको थियो । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ पनि अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको संवाहिनता तोडाउन खुमलटार पुगिसक्नु भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि शुक्रबार बिहान खुमलटार पुग्नु भएको थियो । दिनहुँजसो प्रधानमन्त्री ओलीका विश्वास पात्रका रुपमा चिनिने नेता अर्का अध्यक्ष दाहाललाई फकाउन र दुई अध्यक्षबीचको संवादहिनता तोडाउन सक्रिय देखिएका छन् ।

पार्टीको निर्णय र सहमतिको उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूतहरु नियुक्त गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको लगायतका आरोप प्रचण्ड- नेपाल पक्षले लगाउँदै आएको छ । 

त्यसैगरी कर्णाली प्रदेशको विवादपछि दुई अध्यक्षबीचको सम्बन्ध सुमधुर हुन सकेको छैन ।

अध्यक्षद्धयबीच सम्बन्ध चिसिनुमा अर्को कारण  ठीक एक हप्ता अघि  भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँगको प्रधानमन्त्रीको भेटघाट पार्टी निर्णय विपरीत भएको उनीहरुको आरोप छ ।  यसैगरी पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको ओलीपक्षलाई आरोप लगाउँदै  प्रचण्ड-नेपाल पक्ष यतिबेला ओलीसँग रुष्ट भएको छ ।

प्रधानमन्त्री ओलीसँग पटकपटक सहमति हुँदा पनि बारम्बार धोखा भएकोले अब विश्वास गर्ने अवस्था नरहेको विश्लेषण गर्दै निर्णायक कदम चाल्नुको विकल्प नरहेको निश्कर्ष प्रचण्ड(नेपाल  पक्षले निकालेको स्रोतका दावी छ ।

कात्तिक ४ मा नेकपाका अध्यक्षद्वय ओली–प्रचण्डबीच कर्णाली विवाद समाधानबारे लामै कुरा भएको थियो । तर सहमति विपरीत प्रधानमन्त्री ओलीले एकलौटी निर्णय लिएर पत्राचार समेत गरेको भन्दै प्रचण्डले पछिल्ला भेटवार्ताको निम्तोसमेत अस्वीकार गर्दै आउनु भएको उहाँ निकट एक नेताले बताउनु भयो ।

दुई अध्यक्षबीच संवाद हुन नसकेपछि यतिबेला वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने बालुवाटारको प्रयाससमेत सफल हुन सकिरहेको छैन । आफूहरूका बीचमा कटुता बढेपछि दुवै अध्यक्षले वरिष्ठ नेता नेपाललाई फेरि आ–आफ्नो पक्षमा राख्ने प्रयत्न थालेका छन् । प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गत कात्तिक ४ गते र गत मंगलबार गरी दुईपटक संवाद भइसकेको छ । दुवै भेट प्रधानमन्त्री ओलीको चाहनामा भएको र ओलीले मिलेर अघि बढ्न प्रस्ताव गरेको नेपालनिकट नेताले बताएका छन् ।

ओलीपक्ष नेताहरु भने यतिबेला अध्यक्षद्धयको संवाद गराउन प्रयासरत रहेको अवस्थामा उता प्रचण्ड नेपाल समूह भने केही दिन यता हरेक दिनजसो खुमलटारमा प्रचण्डलगायत नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच छलफल हुने गरेको छ । उहाँहरुबीच संभावित कदममा कसरी अघि बढ्नेदेखि अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मका बारेमा वृहत् परामर्श भइरहेको समाचार स्रोतको दावी छ ।


Views: 121