17th January | 2021 | Sunday | 12:04:40 AM

राष्ट्रको समृद्धिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३०, २०७७ (८:३२ PM)

राष्ट्रको समृद्धिका लागि एकतावद्ध हुन प्रधानमन्त्री ओलीको आह्वान


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननिर्मित संविधानको संस्थागत कार्यान्वयनमार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेको बताउनु भएको छ ।

 प्रधानमन्त्री ओलीले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल सम्बत् ११४१ का अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन सम्पूर्णमा आह्वान गर्नुभएको छ ।

बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषतायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको उहाँले बताउनु भएको छ । 

 विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ‘एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात गरेका छौं।’  भन्नुभएको छ ।

‘हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएको उहाँको धारणा छ ।

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको बताउनु भएको छ । नेपाल सम्बत् ११४१ को यस सुखद् अवसरमा काठमाडौं उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बत्का प्रवर्तक शंखधर साख्वाःको प्रधानमन्त्री ओलीले स्मरण गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘यसै एकता मार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउन चाहन्छु।’

प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्बत् लगायत पर्व मनाउन आह्वान गर्नुभएको छ ।


Views: 116