16th January | 2021 | Saturday | 11:07:43 PM

प्रधानमन्त्री ओली र पूर्व एमाले नेताहरुबीच बालुवाटारमा छलफल

हिमालय टाइम्स   POSTED ON : कार्तिक ३०, २०७७ (९:०१ PM)

 प्रधानमन्त्री ओली र पूर्व एमाले नेताहरुबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

शुक्रबारको सचिवालय बैठकपछि नेकपाको आन्तरिक राजनीतिमा थप तरंग उत्पन्न भएको छ । उक्त बैठक पछि हिजो आज प्रधानमन्त्री ओली पूर्व एमालेका नेताहरुसँग गहन परामर्शमा हुनुहुन्छ । 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको सकृयतालाई हेर्ने हो भने नेकपा पार्टी एकता भन्दा पनि पार्टी फुट तिर गइरहेको अनुमान गर्न सकिन्छ । नेताका पछिल्ला अभिव्यक्तिबाट पनि त्यो पुष्टि हुन्छ ।

प्रधानमन्त्री ओलीले शनिबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि पार्टीमा उत्पन्न पछिल्लो समस्याबारे छलफल गर्नुभएको थियो ।

पार्टीभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई आइतबार बालुवाटारमा भेट गर्नुभएको छ ।  भेटमा महासचिव विष्णु पौडेलपनि सहभागी हुनुहुथ्यो ।

वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पेश गर्नुभएको राजनीतिक प्रस्ताव फिर्ता लिनेबारे छलफल गरेको बताइएको छ ।

नेता नेपालले प्रचण्ड एक्लैले उक्त प्रस्ताव नल्याएको भन्दै ५ जना नेताहरुकै छलफल र सल्लाहमा ल्याएकोले प्रस्ताव फिर्ता नहुने बरु कमिटीमै छलफल गरेर निकास खोज्नुपर्ने अडान दोहोर्याउनु भएको स्रोतको भनाइ छ । 

बैठकमै बसेर आरोपहरुको खण्डन गर्न सकिने नेता नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको तर, प्रधानमन्त्रीले त्यस्ता वाहियात आरोपको आफूले जवाफ नदिने बताउनु भएको स्रोतको दावी छ ।

यसअघि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमसँग पनि बालुवाटारमा भेटवार्ता गर्नुभएको थियो ।

भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा आफ्नो पनि योगदान रहेको बताउनु भएको बताइएको छ ।

गत शुक्रबार सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत समर्थन रहेको भनिएको छ ।

प्रचण्डले सो प्रस्ताव फिर्ता लिएमात्रै मंसिर ३ का लागि तय भएको बैठक बसाउने पक्षमा प्रधानमन्त्री ओली रहनु भएको बताइएको छ ।

File Photo

Views: 177