काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीको विवाद मिलाउनका लागि आवश्यक परे आफ्नो मन्त्री पदसमेत त्याग्न तयार रहेको बताउनु भएको छ ।
मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गुरुङले पार्टीको विवाद मिलाउनका लागि आफू लगायतका धेरै कार्यकर्ता त्याग गर्न तयार रहेको बताउनु भएको छ ।
’स्थिर सरकारको मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं,’ उहाँले फेसबुकमा लेख्नु भएको छ ।
कोभिड संक्रमण बेला प्रतिपक्षी दलले पनि सहयोग गरिरहेको अवस्थामा आफ्नै पार्टीबाट असहयोग र विवाद झिक्ने काम भएको भन्दै उहाँले असन्तुष्टि समेत जनाउनु भएको छ ।
पार्टीका कार्यकारी अध्यक्षसमेत रहनुभएको पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव स्थगित गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
Views: 95