3rd December | 2020 | Thursday | 3:35:15 AM

नेकपा विवादमा प्रचण्डको दौडधुप–सहमतिको बाटोमा अघि बढ्न आफू तयार रहेको प्रतिक्रिया

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७७ (११:२५ AM)

नेकपा विवादमा प्रचण्डको दौडधुप–सहमतिको बाटोमा अघि बढ्न आफू तयार रहेको प्रतिक्रिया

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाउनुभएको १२ आरोपले यतिबेला नेकपाभित्र मात्र नभई पूरै देशको ध्यानाकर्षण भएको छ । यही विषयमा नेताहरूका विभिन्न टीका–टिप्पणीहरू पनि आइरहेका छन् ।

आफूलाई सही सावित गर्न शीर्ष नेताहरूको दौडधुपसमेत निकै बाक्लिएको छ । विभाजनको संघारमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विकसित राजनीतिक घटनाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसँग छलफल गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाएर शुक्रबार उहाँले महासचिव पौडेल र संसदीय दलका उपनेता नेम्वाङसँग पार्टीमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट दुवै नेतासँग कार्यकारी अध्यक्ष दाहालले धुम्बाराहीमा छुट्टाछुट्टै छलफल गर्नुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।

कार्यकारी अध्यक्ष दाहालसँग धुम्बाराहीमा भएको छलफलका क्रममा महासचिव पौडेलले राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो । दाहालले उक्त विषयमा छलफल गर्दै जाउँला भन्ने जवाफ फर्काउनुभएको स्रोतको भनाइ छ ।

धुम्बाराहीबाट बाहिरिने क्रममा महासचिव पौडेलले पार्टीभित्रको परिस्थिति धेरै गम्भीर रहेको प्रतिक्रिया दिनुभएको थियो । ‘परिस्थिति धेरै गम्भीर छ,’ बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै भन्नुभयो ।

यस्तै, नेता नेम्वाङले पनि कार्यकारी अध्यक्ष दाहाललाई मिलेर जान आग्रह गरेको बताइएको छ । दुवै अध्यक्षले स्थायी कमिटी बैठकले गरेका निर्णयअनुसार चल्नु र पार्टीलाई एकजुट बनाएर अगाडि लैजानुको विकल्प नभएको पनि उहाँको भनाइ थियो ।

‘अहिलेका गतिविधि स्थायी कमिटी बैठकको निर्णयविपरीत देखा परेको धारणा राखेँ । स्थायी कमिटीको निर्णयलाई कार्यान्वयन गर्दै पार्टीलाई एकजुट बनाएर लिएर जानुबाहेक हामीसँग कुनै विकल्प छैन । भोलि कार्यकर्ता र जनतालाई के जवाफ दिने भनेर कुरा राखेँ,’ नेम्वाङले भन्नुभयो ।

उहाँका अनुसार जवाफमा कार्यकारी अध्यक्ष दाहालले पार्टी एकताको डोरी नचुँडिएको र आफू एकता जोगाउन तयार रहेको बताउनुभयो । ‘अध्यक्ष प्रचण्डसँगको भेट सकारात्मक भयो, उहाँले प्रष्ट भाषामा एकता जोगाउन तयार रहेको बताउनुभएको छ,’ नेता नेम्वाङले भन्नुभयो ।

गत शुक्रबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उक्त प्रतिवेदनमाथि गर्नुभएको टिप्पणीपछि नेकपा विभाजनको डिलमा पुगेको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले दाहालको प्रस्तावमा लगाइएको आरोप पुष्टि नभए कार्यकारी अध्यक्षले पद छाड्नुपर्ने र आरोप पुष्टि भए आफूले पद छाड्नुपर्ने अवस्था आएको भन्दै त्यसलाई आफूले गम्भीर रूपमा लिएको र पार्टी एकता नै भंग हुनसक्ने अवस्थामा पुगेको संकेत गर्नुभएको थियो ।

‘यो आरोप या त सदर ठहरिनुप¥यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुप¥यो । यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप¥यो, यसको जवाफदेही लिनुप¥यो,’ सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभएको थियो ।

कार्यकारी अध्यक्ष दाहालले अघिल्लो सचिवालय बैठकमा पेस गर्नुभएको राजनीतिक प्रतिवेदनलाई कुनै प्रस्ताव नभएको जिकिर प्रधानमन्त्री ओलीको छ । दाहालको प्रतिवेदनलाई विधिसम्मत प्रस्ताव भन्नै नमिल्ने टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले नेकपामा प्रस्ताव पेस गर्ने विधि नै फरक रहेको स्मरणसमेत गराउनुभएको थियो ।

‘यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने हाम्रो विधि भिन्नै छ । एउटा अध्यक्षलाई जानकारी नभईकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन । त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला तर अर्का अध्यक्षलाई जानकारी नै नदिईकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो । अरू साथीलाई पनि वितरण गर्नुभयो तर त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन । त्यसलाई विधिसम्मत प्रस्ताव भन्न मिल्दैन,’ उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव अध्ययन गरेर आफूले प्रतिवेदन लेख्नका लागि १० दिनको समय माग गरेपछि मंसिर १३ गते बस्ने गरी बैठक स्थगित भएको थियो । त्यसपछि ओली र दाहाललाई मिलाउन र सहमति कायम गराउन नेताहरूको दौडधुप चलिरहेको छ ।

ओलीमाथि लगाइएका आरोपहरू पुष्टि गर्न नेता पोखरेलको चुनौती 

यसैबीच, नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष ओलीमाथि अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोपहरू पुष्टि गर्न चुनौती दिनुभएको छ । शुक्रबार पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पोखरेलले प्रचण्डले लगाएका आरोप पुष्टि नभएको खण्डमा उहाँसँग एक–एक हिसाबकिताब गरिनेसमेत बताउनुभयो । 

प्रचण्डले लगाएका आरोपहरू तथ्यहीन भएको भन्दै उहाँले ती आरोप बुँदागत रूपमा ओलीले जवाफ दिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले प्रस्ताव भनेर जे चिजहरू प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइएको छ, ती तथ्यहीन र आधारहीन आरोपहरू हुन् ।’


Views: 260