6th December | 2020 | Sunday | 3:47:55 AM

सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा छ – सहमहामन्त्री महत

विवेक खड्का   POSTED ON : मंसिर ७, २०७७ (५:५५ PM)

सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा छ – सहमहामन्त्री महत

दाङ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाउन्ु भएको छ । दाङको घोराहीमा आज नेपाली कांग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रममा सहमहामन्त्री महतले नेकपाको सरकार तीन वटै प्रमख अंगलाई आफ्नो नियन्त्रणमा लिएर आगामी निर्वाचन आफ्नो पक्षमा पार्ने खेलमा लागेको बताउनु भयो ।

उहाँले बहुमत प्राप्त नेकपाको सरकार नागरिकको सुरक्षामा खटिनु पर्ने बेलामा आफ्नै आफ्नै भविष्य के हुने भन्ने अवस्थामा पुगेकाले अनावश्यक खिचातानीमा फसेको बताउनु भयो ।

नेता महतले कोरोना महामारीको कारण देखाएर राज्य कोषको पूँजीका ब्रह्मलुट मच्चाएको बताउँदै हालसम्म कोरोना रोकथाममा भएको काम निरर्थक रहेको टिप्पणी गर्नुभयो । प्रतिपक्षी कांग्रेसले कोरोना रोकथामका लागि शुरुवाती चरणमा सघााउने बताई रहँदा सरकारले बेवास्ता गर्दा अहिले यो स्थिती निम्तिएको उहाँको जिकिर थियो । 

कोरोना नियन्त्रणका नाममा हालसम्म २० अर्ब रुपैयाँ खर्च भएको बताएको सरकारले यसको खर्च विवरणको आधिकारिक पुष्ट्याईँ गर्न नसकेको बताउँदै उहाँले संसद अधिवेशन नचलेकोले सरकारले लाभ लिई रहेको पनि बताउनु भयो । नेपाली कांग्रेसले गठन गरेको कोरोना रोकथाम तथा यसको प्रभाव अनुगमन समिति संयोजक समेत रहनु भएको नेता महतले देशभरका विभिन्न जिल्लामा कोरोना रोकथाम र उपचारमा भएका प्रयास र गर्नु पर्ने कामका बारेमा सरकारलाई सुझावसमेत दिएको बताउँदै उक्त सुझाव अक्षरस पालना गरी नागरिकको जीउधनको रक्षामा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गर्नुभयो ।

फरक प्रसंगमा सहमहामन्त्री महतले नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुन नसक्ने बताउनु भयो । अहिलेको अवस्थामा पार्टीभित्रका सबैलाई सहमतिमा ल्याएर लैजाने पार्टी सभापति शेरबहादुर देउवाको सोँचका कारण पनि निर्णय प्रकृयामा ढिलाई भएको उहाँको भनाइ थियो ।

पार्टीभित्रका विभिन्न संगठन तथा कमिटिमा महाधिवेशनको संघारमा सभापतिले नियुक्ति दिनु सान्दर्भिक रहेको बताउँदै वर्षौ वर्ष पार्टीमा रहेर काम गरेकालाई एक पटक पदमा बस्ने मौका पाउनुले पनि पार्टीलाई फाइदा हुने उहाँको भनाइ थियो । यस्तै, उहाँले महाधिवेशन सम्पन्न गर्नका लागि अहिले बढी विवादका रुपमा कृयाशील सदस्यता वितरणको काम रहेको बताउनु भयो । देशभरका ७७ वटै जिल्लाबाट जिल्ला सभापतिलाई मंसीर मसान्तसम्ममा क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन भनिएकोमा व्यवहारिक रुपमा यो माघसम्म जान सक्ने उहाँको अनुमान छ । आगामी भदौसम्मा जसरी पनि महाधिवेशन गरी सक्नु पर्ने विधानमा व्यवस्था भएकाले त्यो समयभन्दा अगावै सम्पन्न गर्ने गरी काम थाल्न जिल्ला मातहतका सबै कार्यकर्तालाई उहाँले निर्देशन पनि दिनुभयो ।

जिल्ला सभापति कीर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव शंकर डाँगीले गनुर््भएको थियो । कार्यक्रममा जिल्ला तहका कांग्रेसका नेता तथा भातृ संगठनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।


Views: 70