6th December | 2020 | Sunday | 4:43:20 AM

अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने – भीम रावल

हिमालय टाइम्स   POSTED ON : मंसिर ७, २०७७ (६:०० PM)

अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने – भीम रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज भीम रावलले कुनै पनि हालतमा पार्टी नफुट्ने बताउनुभएको छ । 

 कैलालीमा पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले अध्यक्षद्वयको अन्तरविरोधका कारण पार्टी नफुट्ने बताउनुभएको हो । नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका नेता रावलले सरकार भने परिवर्तन हुन सक्ने संकेत गर्नुभयो । उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै जना पार्टी फुटाउने योजना समेत नरहेको उल्लेख गर्दै पार्टी कुनै माटोको हाडी नभएकाले कुनै व्यक्तिले लट्ठीले हानेर नफुट्ने ठोकुवा गर्नुभयो ।

 नेता रावलले अध्यक्षद्वयले आफ्ना धारणा र विचार प्रतिवेदनका रुपमा बैठकमा प्रस्तुत गरी निर्णय गर्नु राम्रो कुरा भएको बताउनुभयो । कुनै सैद्धान्तिक र नीतिगत मतभेद नभइ कार्यशैली, विधि र विधानका विषयमा मात्रै बहस चलिरहेकाले त्यसले मात्रै पार्टी फुट्ने सम्भावना नरहेको रावलले बताउनुभयो ।

उहाँले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको उल्लेख गर्दै त्यसको कार्यान्वयन हुन आवश्यक रहेको बताउनुभयो । पार्टी विधि, पद्धति र जनताको चाहाना अनुसार चल्न नसक्दा पार्टीभित्र अन्तर विरोध चर्किएको नेता रावलको भनाई छ । उहाँले पार्टी अध्यक्षहरुलाई विधि र प्रणाली अनुसार चल्न पनि आग्रह गर्नुभयो ।


Views: 147