6th December | 2020 | Sunday | 4:17:23 AM

५ वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई : प्रवक्ता विश्वप्रकाश शर्मा

हिमालय टाइम्स   POSTED ON : मंसिर ७, २०७७ (७:१० PM)

५ वर्ष विपक्षमा बस्ने प्रस्ट जनादेश छ कांग्रेसलाई : प्रवक्ता विश्वप्रकाश शर्मा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।

नेकपाको सचिवालयमा अल्पमतमा पर्नुभएका प्रधानमन्त्री ओलीले सत्ता सन्तुलन कायम राख्न सभापति देउवासँग भेट गरेको अनुमान गरिएको छ ।

‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश’ ल्याउन सहजता खोज्नुभएको र त्यसका लागि कांग्रेसको साथ खोज्नुभएको आशंका समेत गरिएको अवस्थामा प्रधानमन्त्री ओलीसँगको भेटमा सत्ता सन्तुलनका बारेमा कुनै पनि छलफल नभएको सभापति देउवानिकट स्रोतले दाबी गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बेलुकी ट्विट गर्दै जनताबाट पाँच वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको उल्लेख गर्दै कांग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको प्रष्ट्याउनुभएको छ । उहाँले नेकपाको द्वन्द्वसँग कुनै चासो नभएको जिकिर गर्दै सत्ताको जोड घटाउमा कांग्रेसको टाउको गणना नगर्न चेतावनीसमेत दिनुभएको छ ।       

‘भ्रम ःकोही कसैलाई केही छ भने ! ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसँग बिलकुल निरपेक्ष छौं,’ उहाँले ट्विट गर्नुभएको छ, ‘अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल !’ 



Views: 101