21st January | 2021 | Thursday | 4:55:35 AM

दुई अध्यक्षको फरक प्रस्तावले नेकपाभित्र नयाँ बखेडा, सबैको आँखा आजको सचिवालय बैठकमा

सन्दीप पौड्याल   POSTED ON : मंसिर १६, २०७७ (९:१५ AM)

दुई अध्यक्षको फरक प्रस्तावले नेकपाभित्र नयाँ बखेडा, सबैको आँखा आजको सचिवालय बैठकमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र फेरि नयाँ बखेडा सुरु भएको छ । लामो समयको विवाद र बल्लबल्ल बसेको सचिवालय बैठकले केही टुंगोमा पुग्ने आशा ब्युँताएको बेला फेरि नयाँ बखेडा सुरु भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को फरक– फरक प्रस्ताव सचिवालय बैठकमा प्रस्तुत भएपछि अहिले नेकपाभित्रको राजनीतिक मोडले नयाँ रूप लिएको छ । 

प्रस्ताव सार्वजनिक रूपमा बाहिर आएसँगै नेकपा दुई अध्यक्ष समूहबीचको घरझगडा पेचिलो बन्दै गएको छ । ओलीले प्रचण्डविरुद्ध सचिवालय बैठकमा फरक ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेपछि स्थिति गम्भीर बनेको हो । दुवै अध्यक्षका आरोप प्रत्यारोप बैठकमा पेश भएसँगै आगामी रणनीतिबारे दोस्रो तहका नेताहरूले गृहकार्य थालेका छन् । उनीहरूले दुवै अध्यक्षको प्रस्ताव खारेज गरेर नयाँ प्रतिवेदनसहित छलफल अघि बढाउनेबारे गृहकार्य गरिरहेको स्रोतले जनाएको छ । 

अर्काथरि नेताहरूले भने दुवै प्रतिवदेनमाथि छलफल हुने बताएका छन् । तर, ओली पक्षको यसअघि भदौ २६ गतेको निर्णयका आधारमा नयाँ प्रतिवेदन बनाउनुपर्ने अडान छ भने दाहाल पक्षले संयुक्त प्रतिवदेन आउने सम्भावना नरहेको बताउँदै आएको छ ।

अध्यक्ष प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा १९ बुँदे प्रस्ताव एकतर्फी रूपमा पेश गर्नुभएको थियो । सो प्रस्ताव अध्यक्षद्वयको सहमतिमा नआएकाले राजनीतिक प्रस्तावको रूपमा पार्टीले स्वीकार्न नसक्ने तर्क एक पक्षको छ भने अर्को पक्षले त्यसलाई स्वीकार गरी पार्टीको दस्तावेजको रूपमा राखिने तर्क गरेको छ । दुवै अध्यक्षको प्रस्ताव प्रश्न उत्तरको रूपमा आएको छ । दुई अध्यक्षबीच बालुवाटारमा दैनिकजसो बैठक र छलफल भए पनि विवादको हल भने निस्किएको छैन । पार्टीका अर्कोथरि नेताहरूले भने बल्झिएको घाउबाट खिल बाहिर निस्किएकाले अब घाउ निको हुने तर्क गरेका छन् ।

नेकपाका दोस्रो तहका नेताहरूको सुझाव छ, ‘दुई अध्यक्षको आपसी सहकार्य, समन्वय र समझदारीमै पार्टी एकता भएको हो । अझ त्यसको खाँचो छ । पार्टी फुट हुनबाट जोगाउने जिम्मेवारी पनि दुवै अध्यक्षकै काँधमा छ ।’ 

ऊर्जामन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले भने दोस्रो पुस्ता पार्टी र सरकार चलाउन सक्षम र तयार रहेको बताउनुभएको छ । विद्युतीय सवस्टेसन उद्घाटन गर्न रोल्पा पुग्नुभएका पुनले सोमबार यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले भन्नुभयो, ‘दुवै अध्यक्ष तथा प्रधानमन्त्रीले पनि छाड्छु भन्नुहोस् । हामी दोस्रो पुस्ता दुवै पद लिन र चलाउन सक्षम र तयार छौँ । तर, यो विषय आवेश र उत्तेजनाको आधारमा नभई पार्टीको विधि र प्रक्रियागत रूपमा औपचारिक रूपमा हुनुपर्छ,’ नेता पुनले भन्नुभयो । 

यता, उपाध्यक्ष वामदेव गौतमले भने पार्टीको आन्तरिक विवाद छलफल र बैठकबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘पार्टीबाहिर छरिएका हाम्रा विचार’ पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौं ।’

यस्तै, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पार्टीभित्रको विवाद सबैसामु छताछुल्ल भएपछि त्यसको समाधानमा दुवै जना अध्यक्ष नै जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्ने बताउनुहुन्छ । उहाँले दुई मितिमा फरक–फरक प्रस्ताव बैठकमा प्रस्तुत भए, दुवै प्रस्ताव पार्टीका सम्पत्ति हुन् । यसलाई दस्तावेजको रूपमा लिएर सहमतिमा अध्यक्षद्वयले संयुक्त प्रस्ताव बनाएर अघि बढ्नुपर्ने सुझाव दिनुहुन्छ । पार्टीभित्रको विवादको सबै कुरा जानकारीमा आएपछि अब सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा छलफल भएर ती विवाद सल्टिने नेता नेम्वाङको विश्वास छ ।

स्थायी कमिटी सदस्य शंकर पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पार्टी एकता रक्षाका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् ।’ अध्यक्षद्वयले एकतर्फी रूपमा प्रस्तुत गर्नुभएको प्रस्तावले समस्या समाधान नगर्ने भन्नुहुँदै पोखरेलले दुवै अध्यक्षको समन्वय र समझदारीमा साझा प्रस्ताव बनाएर नै पार्टीको आन्तरिक समस्याको निकास निस्कने तर्क गर्नुभएको छ ।

नेकपाका शीर्ष नेताहरूको यस्तो भनाइ आइरहँदा तल्लो तहका नेता कार्यकर्ता भने पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने आशामा देखिन्छन् । नेकपाकी केन्द्रीय सदस्य मदनकुमारी शाह (गरिमा)ले पार्टी विधानअनुसार अगाडि बढ्न सके पार्टीको समस्या समाधान हुने बताउनुभयो । विगतका एक अर्काका कमी कमजोरीलाई ल्याएर पार्टीलाई कमजोर बनाउने काम भइरहेको उल्लेख गर्दै शाहले भन्नुभयो । पछिल्लो समय आएका प्रतिवेदनले झन् पाटीलाई अप्ठ्यारो मोडमा लिनसक्ने भन्दै त्यसको समाधानका लागि माथिल्लो तहका नेताले कार्यशैली सुधार गर्नुपर्ने उहाँको सुझाव छ । शाहले भन्नुभयो, ‘पार्टी फुट्दैन त्यसमा हामी ढुक्क छौँ, पार्टीको एकतालाई मजबुत बनाउँदै लैजाने हो भने पार्टीको विधि र सिद्धान्तलाई सबैले आत्मसात गर्नुको विकल्प छैन ।’

नेकपा कैलाली जिल्ला अध्यक्ष रतनबहादुर थापाले पार्टीको माथिल्लो तहमा जे देखिए पनि त्यस्तो कलह तल्लो तहमा नरहेको जिकिर गर्नुभयो । 

ओलीले गएको शनिबार पेश गरेको प्रस्तावउपर आज (मंगलबार) १ बजे बस्ने सचिवालय बैठकमा छलफल हुँदैछ । यसअघिको बैठकमा ओलीले प्रष्टैसँग प्रचण्डले कात्तिक २८ गते पेश गरेको प्रस्ताव निशर्त फिर्ता नगरे पार्टी एकीकरण प्रक्रिया अगाडि बढ्न नसक्ने चेतावनी दिनुभएको थियो । त्यतिले मात्रै पनि नपुगेर ओलीले गलत आरोप लगाएकोमा प्रचण्डले क्षमा माग्नुपर्ने शर्तसमेत तेस्र्याउनुभएको थियो । तर, प्रचण्डले ओलीले भन्नेबित्तिकै प्रस्ताव फिर्ता लिने अवस्था पनि छैन । किनभने प्रचण्डले पेश गरेको प्रस्ताव सचिवालयका पाँच शीर्ष नेताको सल्लाहले प्रस्तुत भएको हो ।

लामो रस्साकस्सी र विवादबीच अहिले नेकपाभित्र दुई गुट प्रष्ट देख्न सकिन्छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल आन्तरिक स्वार्थको लडाइँमा केन्द्रित भएपछि पार्टी फुटको संघारमा पुगेको छ तर नेताहरू भने यो विवाद टुंगिने र नेकपा नफुट्नेमा विश्वस्त देखिन्छन् । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बढेको दूरीले दुर्घटना बढ्ने भन्दै कार्यकर्ताले चिन्ता जनाइरहेका छन् । 

पार्टीभित्र अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिनुभएको छ भने सचिवालयको बहुमत सदस्य अध्यक्ष दाहालको पक्षमा रहँदा प्रधानमन्त्री ओली पनि बहुमत पु¥याउने कसरतमा हुनुहुन्छ । 

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल हुनुहुन्छ । अध्यक्ष दाहाल खेमाका गृहमन्त्री बादल पार्टी एकताको पक्षमा भन्दै ओली कित्तामा पुग्नुभएको हो । 

पार्टीको मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ । नेकपामा यसअघि बसेको स्थायी कमिटीको निर्णयअनुसार प्रधानमन्त्री ओली नचलेको भन्दै विवाद बढेको हो । राजदूत नियुक्ति, मन्त्रिपरिषद् विस्तार तथा हेरफेर, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखसँग कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्रीले गरेको भेटघाटले नेकपाको विवाद उत्कर्षमा छ ।


Views: 93