16th January | 2021 | Saturday | 7:40:10 AM

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप, वरिष्ठ नेता पौडेल प्रहरी कार्यालयमा

हिमालय टाइम्स   POSTED ON : मंसिर १७, २०७७ (५:४८ PM)

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच झडप, वरिष्ठ नेता पौडेल प्रहरी कार्यालयमा

तनहुँ । तनहुँको दमौलीमा  प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो ।

बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत काङ्ग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई उक्त ठाउँबाट सुरक्षित रुपमा प्रहरी कार्यालयभित्र ल्याएर राखेको छ । 

पूर्वाधार निर्माण कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै आजै बिहान राष्ट्रिय युवा सङ्घले विरोधको कार्यक्रम गरेको थियो । लगत्तै झडप हुन सक्ने स्थितिलाई ध्यानमा राखी  जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।


Views: 88