तनहुँ । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनु भएको छ । निषेधाज्ञा उल्लंघन गरेको भन्दै आज दिउँसो पक्राउ पर्नुभएको नेता पौडेललाई ३ घन्टा पछि साँझ रिहा गरिएको हो ।
पौडेलसँगै पक्राउ पर्नुभएको काँग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई पनि रिहा गरिएको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गर्नु भएको थियो । देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गर्नु भएको
देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनु भयो । सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्नसमेत माग गर्नु भएको थियो ।
व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्घाटनका लागि पुग्नुभएको पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । रिहापछि नेता पौडेलले अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले सरकारले शक्ति दुरूपयोग गरेको आरोप लगाउनु भयो ।
आफ्नो पालामा निर्माण भएको पुल उद्घाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएकोमा सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ थियो ।
यस अघि पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन भएको थियो । काङ्ग्रेसले सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो ।
Views: 100