16th January | 2021 | Saturday | 8:20:36 AM

प्रस्तावमा प्रयोग भएका भाषाले मर्यादाका सबै सीमा मिचेको छ : परराष्ट्रमन्त्री ज्ञवाली

हिमालय टाइम्स   POSTED ON : मंसिर १८, २०७७ (१:१२ PM)

प्रस्तावमा प्रयोग भएका भाषाले मर्यादाका सबै सीमा मिचेको छ : परराष्ट्रमन्त्री  ज्ञवाली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा देखिएको विवादले आम नागरिकलाई चिन्ता बढाएको बताउनु भएको छ ।

बुधबार साँझ एपिवान टेलिभिजनको दि ब्राभो डेल्डा नामक कार्यक्रममा पत्रकार भुसन दाहालसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले पार्टीभित्र हुने छलफल मित्रतापूर्ण हुनु पर्नेमा शत्रुतापूर्ण हुँदै गएको र प्रयोग भएका भाषाले मर्यादाका सवै सीमा मिचेको बताउनु भयो ।

कात्तिक २८ को सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रयोग गर्नुभएको भाषा सहयोद्धामाथि प्रयोग हुनै नसक्ने गरी आएको उहाँको भनाइ छ । ‘प्रचण्डले कात्तिक २८ गते दस्तावेज गरेर जे भाषा प्रयोग गर्नुभयो, त्यहाँ प्रयोग गरिएको भाषा आफ्ना सहयोद्धाका निम्ति त प्रयोग हुँदैन, यत्ति त मैले भन्नैपर्छ,’ ज्ञवालीले भन्नुभयो ।

त्यसैगरी मन्त्री ज्ञवालीले महाधिवेशनबिनै पार्टी नेतृत्व परिवर्तन र चुनाव अगावै सरकारको नेतृत्व परिवर्तन गर्ने गलत सोच नै नेकपाभित्र अहिले देखिएको विवादको मुख्य कारण रहेको बताउनु भयो ।

नेकपा स्थायी समितिका सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘नेतृत्व परिवर्तनको थलो महाधिवेशनबाट बनाउनु पर्छ, महाधिवेशन बाहिरबाट नेतृत्व परिवर्तन, चुनावभन्दा बाहिरबाट प्रधानमन्त्री परिवर्तन, बिकृतिको स्रोत यही हो । दुर्भाग्यवस हामी नजानिँदो गरी त्यही स्रोतमा पुगेका छौं,’ परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, ‘सिष्टमबाट नेतृत्व परिवर्तन गर्छाैं कि आफूलाई पायक पर्यो, अलिकति सजिलो भयो, आफ्नो पक्षमा संख्या देखियो भने गरिहाल्छौं ? यो मुख्य प्रश्न हो ।’

उहाँले सचिवालयमा मुलुकको समस्या समाधान भन्दा आफ्नो स्वार्थपूर्तिका लागि मात्रै छलफल हुनु अत्यन्तै दुर्भाग्यपुर्ण रहेको बताउनु भयो । अनुमति पाउने हो भने सचिवालयको सबै बैठकको माइन्यूटहरु हेर्ने बताउँदै उहाँले भन्नुभयो, नेताहरुले देशको समस्याको बिषयमा कतिवटा छलफल गर्नुभयो होला ? मुलुक र जनताको जल्दाबल्दा समस्यामा कतिवटा एजेण्डामा छलफल गर्नुभयो होला ?’

एकहदसम्म तत्कालिन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको जग तथा आधार नै कमजोर भएको स्वीकार गर्दै उहाँले निर्वाचनले ठूलो र सानो पार्टी बनाएको आधारमा पार्टी एकता नभएको उहाँले बताउनु भयो । दुई धारका फरक आकारका पार्टी बीचको एकिकरणले कसैलाई पनि हिनतावोध नहोस् भनेर एकता भएको उहाँले बताउनु भयो । यसकारण टाउको गनेर होइन सहमतिका आधारमा भएको एकतालाई अहिले बहुमतिय रुपमा यसलाई अघि बढाउनु उचित नहुने उहाँको भनाइ थियो ।

पार्टी भित्रको झगडा तत्काल समाधान नहुने भन्दै उहाँले पार्टी फुटको अवस्थामा भने नपुग्ने नेता ज्ञवालीले बताउनु भयो । अन्तत पार्टी भित्रको झगडालाई महाधिवेशनबाट निकास दिनु पर्ने उहाँको धारणा थियो । सरकार बदल्न यो समय उचित नभएको बताउँदै नेता ज्ञवालीले पार्टी नेतृत्व परिवर्तन गर्न महाधिवेशनमा जानुपर्ने र सरकार परिवर्तनका लागि चुनावसम्म जानुपर्ने विचार व्यक्त गर्नुभयो ।


Views: 710