22nd January | 2021 | Friday | 11:03:04 AM

सुदूरपश्चिम प्रदेश गौरव आयोजनाअन्तर्गतका सडक निर्माण सुरु

सीताराम ओझा, प्रदीप पाठक   POSTED ON : मंसिर २०, २०७७ (९:२४ AM)

सुदूरपश्चिम प्रदेश गौरव आयोजनाअन्तर्गतका सडक निर्माण सुरु

धनगढी । कैलालीलाई डोटीको ठुलीगाडसँग जोड्ने भजनी–छोटी भन्सार ठुलीगाड सडकलाई  सुदूरपश्चिम सरकारले प्रदेश गौरवको सडकको रुपमा राखेको थियो । २०७५ सालको फागुन १ गतेको प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश गौरवको योजनामा छनौट भएको सो सडक खण्डको काम झण्डै  दुई वर्ष बितिसक्दा पनि सुरु हुन सकेको थिएन । गत असारमा ठेक्का सम्झौता भएपछि भने अहिले सो सडकको निर्माण कार्य अगाडि बढेको छ । 

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्यामबहादुर खड्काले केएस.केडी मणिलेक जोइनभेन्चरसँग सम्झौता भएपश्चात् गत साउनदेखि सडक निर्माणको काम सुरु भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार अगामी ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी सात करोडमा ठेक्का दिइएको हो । ठेक्काअनुसार निर्माण व्यवसायीले प्रदेश गौरवको सो सडकमा कालोपत्रे, नाली निर्माण, आवश्यक परेको ठाउँमा नाली कभर गर्नुपर्ने पूर्वाधार कार्यालयका प्रमुख खड्काले बताउनुभयो । निर्माण व्यवसायीलाई तीन महिनाको समय दिएर निर्माण थालिएकामा कतिपय स्थानीय तहमा नदीजन्य वस्तुको उत्खखनन नहुँदा काम केही प्रभावित हुन पुगेको बताइएको छ । निर्माण सामाग्री अभावसम्बन्धी समस्या हल भए तीव्रता दिएर काम समयमै

सम्पन्न गरिने उहाँले बताउनुभयो ।  

यस्तै डोटी र डडेल्धुराका प्रदेश गौरवका सडक हेर्दै आएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले समेत निर्माणको काम अगाडि बढेको जनाएको छ । अघिल्लो वर्षमा ढिलो गरी सम्झौता हुँदा कुनै काम नभए पनि साउनदेखि नै निर्माणलाई गति दिइएको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । डोटीको सहजपुर बोकटान दिपायल सडक र डडेल्धुरा दैजी, पोखरा, ढुङगाड, बझाङ सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ । दुवै सडकका लागि १०÷१० करोड बजेट विनियोजन गरिएको पूर्वाधार कार्यालयले जनाएको छ । 

कञ्चनपुर, बैतडी, दार्चुला लगायतका जिल्लामा छनौट भएका प्रदेश गौरवका सडकको समेत गत वर्ष नै ठेक्का सम्झौता भई काम अगाडि बढेको बताइएको छ । कञ्चनपुरको बेलौरी कलुवापुर नाइल बुडर सडक, बैतडीको सदबाज–श्रीभावर–हाट–दार्चुला सडक, बझाङको दिपायल साईपाल सडक र दार्चुलाको देथला–खार–खलङगा–खण्डेश्वरी सडक पनि गौरवको योजनामा राखिएका सडक हुन् । यस्तै अछामको चिसापानी जंगलघाट–तुर्माखाद–गैरीटाड–कालागाउँ–जयगढ–नन्देगडा हुँदै बडिमालिका जोड्ने सडक र बाजुराको खप्तड–मार्तडी सडकलाई पनि प्रदेश सरकारको गौरवको योजनामा राखिएको छ । करिब दुई वर्षअघि नौ जिल्लामै घोषणा भएका प्रदेश गौरवका सडक योजनाका लागि गत वर्ष पाँच÷पाँच करोडका दरले सरकारले बजेट विनियोजन गरेको थियो । 

चालु आर्थिक वर्षमा समेत नौ वटै सडकका लागि ४२ करोड बजेट विनीयोजन गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । यी सडक निर्माण भए एक जिल्लाबाट अर्को जिल्लासम्म सहज सडक पहुँच हुने विश्वास गरिएको छ ।


Views: 75