22nd January | 2021 | Friday | 11:17:04 AM

बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित, प्रभावित क्षेत्रभित्रको मुआब्जा वितरण तत्काल हुनुपर्ने माग

बाबुराम श्रेष्ठ   POSTED ON : मंसिर २०, २०७७ (९:३० AM)

बूढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित, प्रभावित क्षेत्रभित्रको मुआब्जा वितरण तत्काल हुनुपर्ने माग

धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रका प्रभावित धादिङ र गोरखाका नागरिकहरू आन्दोलनमा उत्रिएका छन् । बूढीगण्डकी जलविद्युत् आयोजनाको तत्काल मोडालिटी टुंग्याउन तथा प्रभावित क्षेत्रभित्रको घरगोठ र फलफूलको मुआब्जा वितरण तत्काल गर्नुपर्ने भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । 

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिको अगुवाइमा गोरखाकोे गण्डकी गाउँपालिका–८ सिउरेनटारस्थित बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा, पुनर्वास तथा पुनःस्थापना इकाइबाट प्रभावित भएका नागरिकहरूले चरणबद्ध रूपमा आन्दोलन गरिएको डुबान प्रभावित एकबहादुर मगरले बताउनुभयो । 

राष्ट्रिय गौरवको विषयमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी टुंग्याएर निर्माण कार्य तत्काल सुरु गर्न, प्रभावित क्षेत्रभित्र पर्ने घरगोठ तथा बोटविरुवाको लगत सार्वजनिक गर्न, दररेट निर्धारण गरी मुआब्जा वितरण गर्नुपर्ने पीडितहरूको माग छ । आफ्नो मागहरू पूरा नभए थप आन्दोलनका कार्यक्रमहरू घोषणा गरिने सरोकार समितिका संयोजक हरेराम ढकालले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण धर्नामा २५ जनाभन्दा बढी सहभागी भएका छैनन् भने आवश्यक स्वास्थ्य सावधानीसमेत अपनाइएको ढकालले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । 

१२ सय मेगावाट विद्युत् उत्पादन गर्ने जलाशयमा आधारित यो आयोजनाबाट धादिङका सलाङ, चैनपुर, मैदी, खरी, मार्पाक, ज्यामरुङ, त्रिपुरासुन्दरी, आगिञ्चोक तथा गोरखाका घ्याल्चोक, बुङकोट, दरबुङ, भुम्लीङचोक, नामजुङ, फुजेल, बोरलाङ, तान्द्राङ, धावा, आरुचनौटे, आरु आर्बाङ, थुमी, लगायतका स्थान प्रभावित हुनेछन् । यी क्षेत्रबाट ४८ हजार रोपनी जमिन अधिग्रहण गर्ने र जहाँबाट ४५ हजार जना विस्थापित हुनेछन् । जलविद्युत् आयोजना निर्माणपश्चात् ती स्थानमा पोखराको फेवातालभन्दा करिब १४ गुणा ठूलो ताल बन्ने र तालको वरिपरि चक्रपथ निर्माण गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसमेत राखिएको थियो । 

धादिङतर्फ ३५ हजार रोपनी र गोरखातर्फ करिब ३२ हजार रोपनी क्षेत्रफल डुबान पर्ने आयोजनाको डिपिआरमा उल्लेख छ । धर्ना कार्यक्रममा धादिङ र गोरखा दुवै जिल्लाका डुबान प्रभावित क्षेत्रका नागरिकहरूको पालैपालो सहभागी हुने सरोकार समितिले जनाएको छ ।

गोरखा र धादिङको सिमानामा बन्न लागेको यो आयोजनका कारण साविकका २८ गाविसका स्थानीय प्रत्यक्ष प्रभावित बन्नेछन् । आयोजना निर्माणका लागि जग्गाको मुआब्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।


Views: 59