22nd January | 2021 | Friday | 12:31:28 PM

राजावादीको दैनिकजसो शक्ति प्रदर्शन, वर्तमान सरकारप्रति असन्तुष्टि कि व्यवस्थाप्रति नै ?

कृष्ण भुसाल   POSTED ON : मंसिर २०, २०७७ (९:३१ AM)

राजावादीको दैनिकजसो शक्ति प्रदर्शन, वर्तमान सरकारप्रति असन्तुष्टि कि व्यवस्थाप्रति नै ?

काठमाडौं । यतिबेला राजतन्त्र पुनःस्थापनाको माग गर्दै देशका विभिन्न स्थानमा दिनहुँजसो प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागीहरू हातमा राष्ट्रिय झण्डा बोकेर हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्रको नारा लगाइरहेका छन् । देशमा गणतन्त्र आएको १२ वर्षपछि राजसंस्थाको पुनः स्थापनाका पक्षमा आन्दोलन हुन थालेको छ । यस अविधको सुरुवाती समयमा छिटफुट राजतन्त्रका नारा लागे पनि दोस्रो संविधानसभाको निर्वाचनपछि बनेको संविधान लागू भएपछि भने राजतन्त्रवादीहरू सडकमा खासै प्रदर्शनमा उत्रिएका थिएनन् । तर, पछिल्ला केही समय भने राजतन्त्रको नारा अलि बढी नै लाग्दै आएको छ । 

‘मुलुकमा राजतन्त्र पक्षमा नारा लाग्नु वर्तमान सरकारप्रतिको असन्तुष्टि हो कि व्यवस्थाप्रतिको असन्तुष्टि नै हो’, यो मुख्य विषय भएको राजनीतिककर्मीहरूले बताउन थालेका छन् । ‘गणतन्त्रप्रति नै जनतामा वितृष्णा जागेकै हो र ?’ जस्ता प्रश्न खडा भएका छन् । २४० वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्था ढालेर आएको गणतन्त्रविरुद्ध हाल हजारौं मानिस राजतन्त्र फर्काउने भन्दै सडक प्रदर्शनमा किन उत्रिएका छन् ? पक्कै पनि यो सोचनीय विषय भएको छ । जनआन्दोलन ०६२÷६३ पछि ०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो ।

विगत दुई महिनादेखि आन्दोलन र ¥याली भइरहेका छन् मुलुकका विभिन्न ठाउँहरूमा । बुटवलबाट सुरु भएको यो ¥याली तथा प्रदर्शन यतिबेला देशका विभिन्न सहर बजारमा दैनिकजसो भइरहेको छ । यो आन्दोलनको नेतृत्व कुनै दलले नगरेर धेरै थरिका समूह राजसंस्था तथा हिन्दू राष्ट्रको पक्षधर र संघीयताविरोधी मानिसहरू ¥याली तथा प्रदर्शनमा सहभागी देखिन्छन् भने राजसंस्थाको पक्षमा पार्टी स्थापना कालदेखि नै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पछिल्ला दिनमा आन्दोलनमा सहभागी भएको छ । देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनको विषयमा पार्टीको औपचारिक निर्णय नभएको तर राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनका लागि भएका प्रदर्शनमा नैतिक समर्थन रहेको राप्रपाले बताएको छ । 

जननिर्वाचित सरकारप्रति जनतामा असन्तुष्टि बढेको र सत्तारूढ पार्टी नै आन्तरिक किचलोमा फसिरहेका बेला देशभर भएका यस खालका प्रदर्शनलाई अर्थपूर्ण मानिएको छ । गणतन्त्रवादीहरू सशंकित हुने र पुरानै व्यवस्थाका पक्षपातीहरू आशावादी हुने अवस्था देखा परेको छ पछिल्ला प्रदर्शनले ।

राजतन्त्र पुनःस्थापनाको नारामा राजावादीहरू उत्साहित देखिएका छन् तर राजतन्त्रका पक्षमा जतिसुकै चर्को नाराबाजी गरे पनि राजतन्त्र फर्किन भने आफूले असम्भव देखेको लेखक तथा राजनीतिक विश्लेषक डा. डिआर उपाध्याय बताउनुहुन्छ । ‘लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त अहिलेसम्मका उपलब्धिहरू जनताले गुम्न दिने छैनन् । राजा समर्थकहरूले हिन्दू धर्म र राजतन्त्रलाई जोड्ने गरेका छन् । साथै, प्रदर्शनकारीले संघीयताविरुद्ध पनि आवाज उठाएको देखिन्छ । अप्रत्यक्षरूपमा जनमत तयार गर्ने प्रयत्न राजावादीहरूले गरेका छन्’, उहाँ भन्नुहुन्छ, दोस्रो जनआन्दोलनका सबै उपलब्धि जोगाउन लोकतन्त्रवादी शक्तिहरू सचेत रहन जरुरी छ ।

राजतन्त्र पुनःस्थापनाका पक्षधर अगुवाहरूले भने अहिलेको गणतान्त्रिक व्यवस्थाले जनताको हित नभएको दाबी गर्दै नेपालबाट राजतन्त्र षड्यन्त्रपूर्वक हटाइएकाले अब पुनःस्थापना गर्नुपर्ने बताउँछन् । राष्ट्रिय शक्ति नेपालका संयोजकसमेत रहनुभएका पूर्वमन्त्री केशरबहादुर विष्ट २०७२ सालमा जारी भएको नेपालको संविधानको औचित्य सकिएको दाबी गर्दै नेपालको पहिचानका लागि राजतन्त्रको उपस्थिति अपरिहार्य रहेको बताउनुहुन्छ । यस्तै, पूर्वमन्त्री दीपक ज्ञवालीले २०४७ सालको संविधान पुनःस्थापना गर्न ढिलो भइसकेको बताउँदै ‘राजतन्त्रलाई रेफ्रीको भूमिकामा ल्याउनुपर्छ,’ भन्नुहुन्छ । ज्ञवालीले अहिलेको शासन व्यवस्थामा केही मूलभूत विषयहरू तत्काल परिवर्तन गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

हजारौँ जनताको बलिदानीले आएको गणतन्त्रमा जनताका समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा र सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका साथै अन्य दल आफ्नै आन्तरिक विवादमा रहँदा जनतामा देखिएको चरम निराशासँगै सडकमा लागेको राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको मागको नारा कसरी साम्य हुने हो दलहरूका आगामी क्रियाकलापले प्रष्ट पार्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । कोरोना संक्रमणको बेवास्ता गर्दै देशभर नै हजारौंको संख्यामा सहभागी भएर दिनहँुजसो यस्ता प्रदर्शन हुनुमा राजनीतिक दलहरू नै मुख्य जिम्मेवार रहेको विश्लेकषकहरू बताउँछन् । दलहरूले जनचाहनाअनुरूप काम नगर्दा र जनताका दैनिक समस्यालाई सम्बोधन नगर्दा आम जनतामा आएको चरम निराशाले नै अहिलेको परिस्थिति सिर्जना भएको उनीहरूको ठहर छ । 

यता, सरकारले राजावादीहरूको गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले देशका विभिन्न भागमा केही दिनयता भइरहेको राजावादीहरूको प्रदर्शनतर्फ लक्षित गर्दै यस्तो आग्रह गर्नुभएको हो । ‘जसरी अहिले सरकारको विरुद्धमा केही गतिविधि छन् । हामी नेपालको संघीयता, स्थिर सरकार, विकासका विरुद्ध जुन गतिविधि भइरहेको छ । नेपाल सरकार त्यसमा सचेत छ । हामीले त्यस्ता गतिविधिमा नलाग्न, सहभागी नहुन आहृवान गरेका छौं । सचेत रहन हामी जनता, नागरिक समाज, राजनीतिक दल सबैलाई आग्रह गर्दछौं,’ प्रवक्ता गुरुङले भन्नुभएको छ । त्यस्तै, उहाँले संकटको घडीमा एकताबद्ध हुन पनि सबैलाई आग्रह गर्नुभएको छ ।

आज (शनिबार) पनि राजवादीहरूले काठमाडौंमा बृहत् प्रदर्शन गर्ने तयारी गरेका छन् भने यता, जिल्ला प्रशासन काठमाडौंले प्रदर्शन नगर्न सचेत गराएको छ । प्रशासनले प्रदर्शन गरे वा सहभागी भएमा कारबाही गर्नेसम्मको चेतावनी दिइसकेको छ । प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रशासनले गत मंगलबार विज्ञप्ति जारी गर्दै संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको थियो ।

पछिल्लो समय राजसंस्था र हिन्दू राज्यको पक्षमा भएका दिनहुँजसो ¥याली तथा प्रदर्शनमा सहभागीहरूको संख्या उल्लेख्य बढ्दै जानुमा यसलाई दलहरूप्रति जनताको चरम असन्तुष्टिको रूपमा हेरिन थालेको छ । समय समयमा विभिन्न सन्दर्भमा शुभकामना दिने क्रममा पूर्व–राजा ज्ञानेन्द्र शाहले ‘मुलुक अभिभावकविहीन भएको’ भन्दै आउनुभए पनि पछिल्ला समयमा देशव्यापी भएका प्रदर्शनका विषयलाई लिएर भने पूर्वराजा शाह मौन बस्नुभएको छ । यसलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् । 


Views: 62