22nd January | 2021 | Friday | 12:42:21 PM

सचिवालय बैठकमा गृहमन्त्री थापाको छुट्टै प्रस्ताव-अर्थमन्त्री पौडेलको समर्थन

हिमालय टाइम्स   POSTED ON : मंसिर २०, २०७७ (८:०४ PM)

 सचिवालय बैठकमा गृहमन्त्री थापाको छुट्टै प्रस्ताव-अर्थमन्त्री पौडेलको समर्थन

काठमाडौ । शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले पार्टी भित्रको विवाद समाधानका लागि नयाँ कार्यदल बनाएर जानु पर्ने प्रस्ताव गर्नु भएको बुझिएको छ ।

 गृहमन्त्री समेत रहनुभएको सचिवालय सदस्य  थापाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव गर्नु भएको थियो भने अर्थमन्त्रीसमेत  रहनुभएको  महासचिव बिष्णु पौडेलले थापाको प्रस्तावलाई समर्थन गर्नु भएको श्रोतको दाबी छ । उहाँको प्रस्ताव उपर सहमति नजुटेको श्रोतले बतायो ।

सचिवालयले पार्टीमा देखिएको संकट समाधानका लागि स्थायी कमिटीमा सवै प्रस्ताव लैजाने निर्णय गरेको छ ।

नेकपामा पछिल्लो समय विवाद चर्किएको बेला प्रचण्ड- नेपाल समूह प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई सके दुबै पदबाट नभए पनि दुई मध्ये कुनै एक पद छोडाउने गृहकार्यमा लागेको छ ।

 गत कात्तिक २८ गतेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्का अध्यक्ष ओलीमाथि विभिन्न आरोपसहित प्रतिवेदन पेश गर्नु भएको थियो । त्यसको काउन्टरमा प्रधानमन्त्री ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव पेश गर्नु भएको थियो। 

अध्यक्ष प्रचण्डको प्रस्तावित प्रतिवेदनमा प्रधानमन्त्री ओलीले पद छोडेर त्याग गर्नु पर्ने आसय व्यक्त गरिएको छ  । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याउनु भएको छ ।  उहाँले अध्यक्ष छोड्न महाधिवेशन कुर्नु पर्ने र प्रधानमन्त्री छोड्न आगामी निर्वाचनसम्म कुर्नु पर्ने बताउदै आउनु भएको छ । साथै प्रधानमन्त्री ओलीले समस्याको जड प्रचण्डपक्षको गुटगत भेला र सरकारप्रतीको असहयोग रहेको बताउनु भएको छ । उहाँले कार्यकारी प्रचण्डको प्रतिवेदनलाई कुन्ठायुक्त आरोपपत्र भएकोले फिर्ता लिनु पर्ने बताउनु भएको थियो । उक्त प्रस्ताव फिर्ता नभएसम्म आफू सचिवालय बैठकमै नबस्ने अडान लिदै यस अघिका दुई वटा बैठकमा उपस्थित हुनु भएको थिएन ।

आजको सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा एक्लाएक्लै बार्ता समेत  भएको थियो ।

त्यसपछि सचिवालयको बैठक बसेको थियो । बैठक अघि अध्यक्षद्वयबीच छलफल भएकोले आजको सचिवालयले केहि निकास दिनसक्ने आँकलन गरिएको थियो । दुई अध्यक्षबीच २५ दिन पछि वान टु वान सम्बाद भएको थियो ।

आज सवा ३ घण्टा बसेको सचिवालय बैठकमा पार्टीभित्रको संकट समाधानमा सहमति  जुटेन ।सहमति नजुटेपछि  दुवै प्रतिवेदन तल्ला कमिटीमा लगेर छलफल गर्ने र निर्णयमा पुग्ने सचिवालयले निर्णय गरेको हो । 

आइतबार १ बजेका लागि स्थायी समिति बैठक धुम्बाराहीमा बोलाइएको छ ।

स्थायी समितिमा दुबै अध्यक्षको प्रस्ताव छलफलका लागि पेश हुनेछ भने ओलीलाई दुईमध्ये एक पद छाड्न बाध्य बनाउने रणनीति ओली इतर समूहको छ । 



Views: 89