25th February | 2021 | Thursday | 7:20:26 AM

प्रधानमन्त्रीका लागि माइतीघरमा लडिबुडी : मन्त्री भट्ट

हिमालय टाइम्स   POSTED ON : पुष १५, २०७७ (७:५१ PM)

प्रधानमन्त्रीका लागि माइतीघरमा लडिबुडी :  मन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रधानमन्त्रीका लागि माइतीघरमा लडिबुडी गरेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार बबरमहलको कार्की ब्यांक्विटमा आयोजना गरेको ‘सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले दाहाल–नेपालले प्रधानमन्त्रीका लागि माइतीघरमा लडिबुडी गरेको टिप्पणी गर्नुभएको हो ।

‘देशलाई समृद्ध नेपाल र सुखी नेपाली दर्शनमा कसरी अगाडि बढाउने भन्ने छलफलमा व्यस्त हुनुपर्ने नेताहरू महाधिवेशनसम्म पनि पर्खिन नसकेर छट्पटिएर सडकमा पुग्नु भएको छ,’ मन्त्री भट्टले भन्नुभयो, ‘वरिष्ठ नेतालाई तेस्रो होइन, दोस्रो नै हुनुप¥यो । अनि कार्यकारीलाई अहिल्यै प्रधानमन्त्री हुनुप¥यो । अहिले केटाकेटीपन देखाएर माइतीघर मण्डलामा प्रधानमन्त्री चाहियो भनेर लडिबुडी खेल्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले आम निर्वाचनपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्ने बताउँदा पनि दाहाल–नेपालले धैर्य गर्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो । ओली नेतृत्वको नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले दाहाल–नेपाल समूहलाई आगोको सानो झिल्को मात्रै भएको टिप्पणी गर्नुभयो । ‘त्यो सानो भिल्को हो । बिलाएर जान्छ । भोलि हराएर जान्छ,’ उहाँले भन्नुभयो ।

भट्टले सम्बोधनको अधिकांश समय दाहालको आलोचनामा खर्चिदै प्रधानमन्त्री ओलीको मन्त्रमुग्ध तरिकाले प्रसंशा गर्नुभएको थियो । उहाँले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा लिने दाहालको अभिव्यक्ति तर्फ ईंगित गर्दै प्रश्न गर्नुभयो, ‘बाँकी १२ हजारको जिम्मा कस्ले लिन्छ ? आँट भए त १७ हजारकै जिम्मा लिनुप¥यो नि ।’

 


Views: 68