8th March | 2021 | Monday | 6:11:57 AM

राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो हुँदैन : अध्यक्ष तिमिल्सिना

  POSTED ON : पुष १६, २०७७ (८:४६ AM)

राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो हुँदैन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको हिउँदे अधिवेशन लामो समयसम्म लैजान नसकिने बताउनुभएको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा विधेयकहरू दुवै सदनबाट पास गरेर ऐन बन्ने अवस्था नरहेकाले सरकारी बिजनेस विना अधिवेशन लामो समय लैजान नसकिने बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रियसभा सदस्यहरूलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन पनि अपिल गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रियसभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रियसभा सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिनुभयो । तर, यो अवधिभर राष्ट्रियसभा सदस्यहरूलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 

१७ गतेको बैठकको निम्ति संघीय संसद् सचिवालयले स्वास्थ्य मापदण्ड पूरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । संसद्भित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उहाँले सम्पूर्ण राष्ट्रियसभा सदस्यहरूलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानी अपनाउन आग्रह गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा सदस्यबाहेक बैठकस्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायत सबैलाई पनि सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । 

अध्यक्ष तिमिल्सिनाले स्वास्थ्य सावधानी अपनाउन सकेको खण्डमा राष्ट्रियसभाको यस अधिवेशनलाई स्वास्थ्यको कारण आउने बाधा बिना नै अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रतिनिधिसभा नभएको अवस्थामा बिलहरू दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था नभएको उल्लेख गर्दै सरकारी बिजनेश भएन भने सदन लामो समय लैजान नसकिने बताउनुभयो । 

राष्ट्रियसभा अधिवेशन पुस १७ गते अपराहृन ४ बजेको निम्ति आह्वान भएको छ । प्रतिनिधिसभा विघटनपछि पहिलोपल्ट बस्न लागको राष्ट्रियसभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ ।


Views: 71