8th March | 2021 | Monday | 6:24:51 AM

प्रचण्ड–माधव भेलाको निष्कर्ष : दोस्रो चरणको आन्दोलनका लागि अन्य दलसँग पनि सहकार्य गर्ने

  POSTED ON : पुष १६, २०७७ (८:५१ AM)

प्रचण्ड–माधव भेलाको निष्कर्ष : दोस्रो चरणको आन्दोलनका लागि अन्य दलसँग पनि सहकार्य गर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनका लागि अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बुधबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनका लागि अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रतिनिधिसभा विघटनविरुद्धको दोस्र्रो चरणको आन्दोलनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) सँग छलफल गर्ने सहमति जुटेको जानकारी दिनुभयो । 

प्रतिनिधिसभा विघटनविरुद्ध छुट्टाछुट्टै रूपमा आन्दोलनरत दलहरूसँग आगामी आन्दोलनका बारेमा छलफल चलिरहेका कारण बुधबारको बैठकले दोस्रो चरणको आन्दोलनका बारेमा कुनै निर्णय नगरेको उहाँको भनाइ छ ।

पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन अन्य दलहरूसँग मिलेर संयुक्त रूपमा गर्दा प्रभावकारी हुने निष्कर्ष निकालिएको बताउनुभयो ।

अहिलेलाई अरू पार्टीहरूसँग छलफल गरेर संयुक्त संघर्षलाई नै प्राथमिकता दिने सहमति जुटे पनि ढिलो भए एक्लै आन्दोलनका कार्यक्रम घोषणा गरिने उहाँले बताउनुभयो । ‘मिलेर आन्दोलनमा जाने कुरामा ढिला भयो भने चाँहि हामी छिट्टै एकलै नै अर्को कार्यक्रम घोषणा गर्छौं,’ स्थायी कमिटी सदस्य पन्तले भन्नुभयो ।

स्थायी कमिटीको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी रूपमा गरिएको पहिलो चरणको विरोध प्रदर्शन सफल भएको निष्कर्ष निकालेको छ । बैठकले मंगलबार सम्पन्न पहिलो चरणको आन्दोलनको समीक्षा गर्दै सफल भएको निष्कर्ष निकालेको पन्तले बताउनुभयो ।

यसअघि, मंगलबार भृकुटीमण्डपमा आयोजित विरोधसभाको समापनका क्रममा कार्यक्रम सञ्चालकसमेत रहनुभएका निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईले सरकाविरुद्ध थप संघर्षका कार्यक्रम तय गर्न बुधबार १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताउनुभएको थियो । 

ओलीले देशमा अराजकता मच्चाए, बालुवाटारमा लोकतन्त्रविरोधी गुट मात्र भेला : खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको आरोप लगाउनुभएको छ । बुधबार राजधानीमा अखिल नेपाल महिला संघले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले केही मान्छेहरूलाई बालुवाटारमा भेला गरेर अराजकता मच्चाएको बताउनुभयो । 

नेता खनालले बालुवाटारमा संविधानविरोधी, लोकतन्त्रविरोधी र अराजक मान्छेहरू मात्रै भेला हुने गरेको र त्यसको नायक प्रधानमन्त्री ओली नै रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीले केही मान्छेहरूलाई पालेर जसरी बालुवाटारमा भेला गरेका छन् त्यो भेला भनेको एउटा गुटको भेला हो । त्यो संविधानविरोधी भेला हो । त्यो लोकतन्त्रविरोधी भेला हो । त्यो अराजक मान्छेहरूको भेला हो । त्यो मुलुकलाई लुटपाट गरेर खाने मान्छेहरूको भेला हो । त्यसको नायक अहिले केपी ओली बन्न पुगेका छन् ।’

आफैंले हस्ताक्षर गरी निर्माण गरेको संविधानमाथि प्रधानमन्त्री ओलीले बलात्कार गरेको समेत वरिष्ठ नेता खनालले बताउनुभयो । संविधानमा नभएको व्यवस्था प्रयोग गरी संसद् विघटन गरिनु आफैंमा लज्जित कुरा भएको उहाँको टिप्पणी छ । 

देशमा भएको अस्थिरतालाई समाप्त गरी स्थिरता आएको अवस्थामा फेरि प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ धकेलिदिएको पनि नेता खनालले बताउनुभयो । एकपटक संसद् विघटन गरेपछि फेरि चुनाव भए पनि अब बन्ने प्रधानमन्त्रीले समेत संसद् विघटन गर्न सक्ने अधिकार राख्ने बताउनुभयो । एक पटकको नजिरमा टेकेर फेरि पनि यस्ता कदम आउने भएकाले संसद् पुनःस्थापनाको विकल्प नभएको उहाँको भनाइ छ ।

उहाँले राजनीतिक दलसम्बन्धी ऐनको धारा ३३ अनुसार कुनै पनि दुई पार्टी मिलेर बनेको एकीकृत पार्टीलाई पाँच वर्षसम्म फुटाउन नमिल्ने बताउनुभयो । तर, फुटाउनै पर्ने परिस्थिति भए पनि संसदीय दलमा र केन्द्रीय समितिमा ४०÷४० प्रतिशत हुनैपर्ने बताउनुभयो । अहिलेको नेकपामा ४० प्रतिशत पनि ओलीसँग नरहेकाले पार्टी फुटाउनै नसक्ने पनि वरिष्ठ नेता खनालले बताउनुभयो ।

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहको पत्राचार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा बाँडिएर बढेको नेकपाको झगडा बैंक खाता रोक्कासम्म पुगेको छ । नेकपाको एउटा समूह (प्रचण्ड–माधव) ले सबै बैंक तथा वित्तीय संस्थाहरूलाई बुधबार पत्र लेख्दै पार्टीको खाताहरू रोक्का गर्न आग्रह गरेको छ । एमाले र माओवादी केन्द्र एकीकृत भएपछि दुवै पार्टीको सम्पत्ति एउटै बनाउने प्रक्रिया अघि बढेको थियो ।

पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले स्थायी कमिटी बैठकबाट खाता रोक्का गर्ने निर्णय भएको जानकारी दिनुभयो । ‘हाम्रो पार्टीभित्र उत्पन्न विशिष्ट परिस्थितिका कारण त्यस बैंकमा हाम्रो पार्टीको नाममा वा साबिक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को नाममा रहेको खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिदिनुहुन अनुरोध छ,’ नेकपाले बैंकलाई पठाएको पत्रमा उल्लेख छ ।

पत्रमा अध्यक्षको हैसियतमा प्रचण्ड र नेपालको हस्ताक्षर छ । पार्टी एकीकरण हुँदा तयार पारिएको एक लगतअनुसार, तत्कालीन एमालेसँग दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति थियो भने माओवादीतर्फ कम्तीमा एक अर्बको सम्पत्ति थियो ।

दुई गुटमा विभाजित पार्टीमा चुनाव चिहृन सूर्यमा दुवै पक्षले दाबी गरिरहेका बेला सम्पत्तिमा पनि दाबी परेको हो । दुवै गुटबीच पार्टी कार्यालयमा आ–आफ्नो दाबी सुरु भए पनि राजधानीमा दुई गुटको बैठक–भेला गर्ने ठाउँ प्रष्ट छुट्टिइसकेको छ ।


Views: 77