8th March | 2021 | Monday | 5:24:49 AM

विचाराधीन मुद्दामा प्रधानमन्त्रीको दाबी : संसद् पुनःस्थापना हुनै सक्दैन

  POSTED ON : पुष १६, २०७७ (८:५४ AM)

विचाराधीन मुद्दामा प्रधानमन्त्रीको दाबी : संसद् पुनःस्थापना हुनै सक्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको मुद्दा विचाराधीन रहेको अवस्थामा संसद् पुनःस्थापना हुनै नसक्ने दाबी गर्नुभएको छ । आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार बबरमहलको कार्की ब्यांक्वेटमा आयोजना गरेको ‘सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना हुनै नसक्ने दाबी गर्नुभएको हो ।

‘संसद् पुनःस्थापनाको कुनै सम्भावना नै छैन । संसद् विघटन संविधानअनुसार नै छ,’ उहाँले भन्नुभयो, ‘संविधानमा संसद् पुनःस्थापनाको प्रावधानै छैन । ६४ प्रतिशत बहुमत प्राप्त सरकारले विघटन गरेको हो । अहिले जो जहाँ गए पनि विघटन हुँदा ६४ प्रतिशत थियो । अब अरूको सरकार बन्दैन । संविधानमा पनि त्यो व्यवस्था छैन ।’

प्रधानमन्त्री ओलीले संसद् विघटनको विपक्षमा रहेका बाँकी ३६ प्रतिशतले सरकार बनाउने अवस्था नभएकाले अबको विकल्प चुनाव नै भएको जिकिर गर्नुभयो । उहाँले संसद् पुनःस्थापनाको औचित्यमाथि पनि प्रश्न गर्नुभयो । ‘संसद् पुनःस्थापना किन ? तमासाका लागि ?,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

‘सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई धृतराष्ट्रको संज्ञा दिनुभयो । ‘मैले मित्रताको अंगालो हाल्दा उहाँले धृतराष्ट्रको जस्तो गर्नुभयो,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले आफू २०७४ फागुन ३ मा प्रधानमन्त्री बन्दा पनि दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमति गर्ने काम गरेको आरोप लगाउनुभयो ।

‘के पाकिरहेको छ खिचडी भनेर हेरिरहेको छु । चुनाव मसँग मिलेर लड्ने । सरकार बनाउन कांग्रेसँग छलफल गर्ने र हामीसँग बार्गेनिङ गर्ने ?,’ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘फागुन ३ गते म प्रधानमन्त्री हुँदा मन्त्री बन्न एक जना पनि पठाउनुभएन । जहिले पनि म मित्रताले अँगालो हाल्छु । उहाँले धृतराष्ट्रको जस्तो गर्नुभयो । उहाँको ध्यान कब्जा गर्ने र कसरी हत्याउने मात्रै हुँदो रहेछ । षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भन्यौं, राजनीति भनेको धोका र बेइमानी मात्र होइन त्यसमा नकुद्नुस् भनेर सम्झायौं । तर, उहाँले मान्नुभएन ।’

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संविधान कार्यान्वयन र देश निर्माणका लागि एकता गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेकपाको दाहाल–नेपाल समूहले बहुमत भएको भन्दै नाराबाजी गर्न आवश्यक नभएको टिप्पणी गर्नुभयो । ‘उहाँहरू बहुमत छ भन्दै हुनुहुन्छ । के–को बहुमत छ ? दुईवटा मिल्दा बहुमत पुग्छ भन्ने था छैन र ?,’ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘एकता र एकीकरणका लागि दिएको थियो । स्थायित्व संविधान कार्यान्वयन र देश अघि बढाउनका लागि दिएको थियो । उहाँहरूले त्यो बहुमत स्वार्थका लागि प्रयोग गर्नुभयो ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँग गरिएका सम्झौताले आफ्नो ब्रिफकेस भरिएको पनि बताउनुभयो । ‘प्रचण्डसँगका सम्झौताले मेरो ब्रिफिकेस भरिएको छ । आज निर्णय ग¥यो भोलि गल्ती गरँे कि क्या हो भन्नुभयो । के निर्णय चाहिएको छ सच्याउनुस् भनेँ । महाधिवेशन अघि बढाउनुस् भनेँ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले आप्mना पुराना सहयात्री माधवकुमार नेपाल दाहालको कार्यकर्ता बन्न गएको पनि टिप्पणी गर्नुभयो । ‘माधव नेपालको खासै टिप्पणी गर्नु छैन । विचरा उहाँ त प्रचण्डको कार्यकर्ता हुन जानुभएको छ । मलाई पदको लोभ छैन पनि भन्ने अनि सम्झौता उधारोमा होइन नगद पनि भन्ने ?,’ प्रधानमन्त्रीले प्रश्न गर्नुभयो ।

उहाँले घोषित समयमै मध्यावधि निर्वाचन हुने भन्दै संसद् विघटनको विरोधमा आन्दोलनमा उत्रिएका दलहरूलाई सडकमा भन्दा जनतासामु जान पनि सुझाव दिनुभयो । ‘स्वस्थ र स्वच्छ निर्वाचन हुने । बत्ती निभाइने छैन । मतपत्र च्यातिने छैन । मतपत्र च्यात्छु र बत्ती निभाउँछु भन्ने ठान्नुभएको छ भने त्यो पनि दिइने छैन । आउनुस् निर्वाचनमा,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद् विघटनको घोषणा गर्नुभएको थियो । संसद् विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी मुद्दाहरू परेका थिए । ती मुद्दाको सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

प्रधानमन्त्रीका लागि माइतीघरमा लडीबुडी : भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल प्रधानमन्त्रीका लागि माइतीघरमा लडीबुडी गरेको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले आयोजना गरेको ‘सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले दाहाल–नेपालले प्रधानमन्त्रीका लागि माइतीघरमा लडीबुडी गरेको टिप्पणी गर्नुभएको हो ।

‘देशलाई समृद्ध नेपाल र सुखी नेपाली दर्शनमा कसरी अगाडि बढाउने भन्ने छलफलमा व्यस्त हुनुपर्ने नेताहरू महाधिवेशनसम्म पनि पर्खिन नसकेर छट्पटिएर सडकमा पुग्नुभएको छ,’ मन्त्री भट्टले भन्नुभयो, ‘वरिष्ठ नेतालाई तेस्रो होइन, दोस्रो नै हुनुप¥यो । अनि कार्यकारीलाई अहिल्यै प्रधानमन्त्री हुनुप¥यो । अहिले केटाकेटीपन देखाएर माइतीघर मण्डलामा प्रधानमन्त्री चाहियो भनेर लडीबुडी खेल्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले आम निर्वाचनपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष पद छाड्ने बताउँदा पनि प्रचण्ड–माधवले धैर्य गर्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो । ओली नेतृत्वको नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भट्टले प्रचण्ड–माधव समूहलाई आगोको सानो झिल्को मात्रै भएको टिप्पणी गर्नुभयो । ‘त्यो सानो भिल्को हो । बिलाएर जान्छ । भोलि हराएर जान्छ,’ उहाँले भन्नुभयो ।

भट्टले सम्बोधनको अधिकांश समय दाहालको आलोचनामा खर्चिंदै प्रधानमन्त्री ओलीको मन्त्रमुग्ध तरिकाले प्रशंसा गर्नुभएको थियो । उहाँले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिने दाहालको अभिव्यक्तितर्फ इंगित गर्दै प्रश्न गर्नुभयो, ‘बाँकी १२ हजारको जिम्मा कसले लिन्छ ? आँट भए त १७ हजारकै जिम्मा लिनुप¥यो नि ।’

प्रचण्डले ओलीको अपुताली खान पार्टी एकता गरे :  वनमन्त्री आले

नवनियुक्त वनमन्त्री प्रेम आलेले केपी शर्मा ओलीको अपुताली खान पुष्पकमल दाहालले पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । नेकपाको ओली समूहले आयोजना गरेको ‘सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘उहाँको नियत के रहेछ भने केपी ओलीको मिर्गाैला फेल भएको छ । तीन वर्षभन्दा बढी नबाँच्ने भनेको हुनाले पार्टी एकता गर्नुभएको रहेछ । केपी ओली मरेपछि अपुताली खान पाइन्छ कि भनेर पार्टी एकता गर्नुभएको थियो,’ मन्त्री आलेले भन्नुभयो, ‘आप्mनो पार्टी फुटाएर नेकपा एमाले जनताको पार्टी फुटाउन उहाँ यो घरमा प्रवेश गर्नुभएको रहेछ ।’

मन्त्री आले नेकपाको प्रचण्ड–माधव खेमाका नेता भीम रावलप्रति निक्कै आक्रामक रूपमा प्रस्तुत हुनुभएको थियो । उहाँले नेता रावलले पार्टी मिल्न नदिने काम गरेको आरोपसमेत लगाउनुभयो । मन्त्री आलेले रावललाई तुच्छ रहेको समेत टिप्पणी गर्नुभयो ।

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो : डा. भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै डा. भट्टराईले निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने विश्वास दिलाउनुभएको हो । यद्धपि, संसद् विघटनविरुद्ध अदालतमा परेको रिटको विषय अहिले पनि विचाराधीन रहेकाले अदालतको फैसला कुरिएको जानकारी दिनुभयो । 

डा. भट्टराईले भन्नुभयो, ‘बहुमत प्राप्त प्रधानमन्त्रीले संविधानतः निर्वाचनको घोषणा गरिसक्नुभएको छ, वैशाख १७ र वैशाख २७ गते गरी दुई चरणमा निर्वाचन हुन्छ । निर्वाचन आयोग तयारीमा जुटिसकेको छ । सरकार तयारीमा रहेको छ । यद्धपि, यो विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । अहिले नै यो हुन्छ भनेर भन्ने कुरा हुँदैन । सरकार पूर्ण रूपमा निर्वाचनका लागि तयारीमा छ । निर्वाचन गर्ने काममा छ ।’ 

उहाँले निर्वाचन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा भने,‘यो मुद्दा विचाराधीन छ । यो अवस्थामा हुँदैन कि भन्नु स्वाभाविक हो । यो संवैधानिक इजलासमा बहस हुँदा, छलफल हुँदा, प्रधानन्यायाधीशले दुई प्रश्न सोध्नुभयो किनकी संविधानको अन्तिम व्याख्या गर्ने थलो सर्वोच्च अदालत हो । एउटा प्रश्न उहाँ (प्रधानन्यायाधीशले) के भन्नुभयो भने वकिलले बहस गर्ने क्रममा संसद् विघटन गर्ने प्रक्रिया के हुनुपर्दथ्यो भनेर बहस गर्न भन्नुभयो । मेरो बुझाइमा विघटन गर्ने प्रावधान गर्ने अहिलेको संसद्मा पनि हुन्छ ।’

उहाँले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले ‘मैले सरकार चलाउन सकिनँ, म निर्वाचनमा जान्छु भन्न नपाउने ?’ भन्दै उल्टै प्रश्न गर्नुभयो । ‘सिटिङ प्राइम मिनिस्टरले निर्वाचनमा जान्छु भन्न किन नपाउने ? उहाँको प्रश्न थियो । पहिलो यो बहुमत प्राप्त सरकार हो । संसद्भित्र विकल्प छैन । निर्वाचन हुँदैन कि भन्ने विषयमा हामी अन्योलतमा रहनुहुँदैन । तर, अन्तरिम आदेश आएको छैन । अब निर्वाचनको वातावरण बनाएर जाने कुरा नै हो । अन्य पार्टीका धारणा आउने क्रम जारी छ । निर्वाचनको विकल्प अब छैन । ढिलो चाँडो निर्वाचनमा नै जाने हो । 

नेपालमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे वैदेशिक मुलुकहरूको चासो हुनु स्वाभाविक भएको पनि उहाँको धारणा छ । उहाँले भन्नुभयो, ‘हिजोदेखि नै हामीले स्थायित्वको पक्षमा छौं भनेका थियौं । स्थायी सरकार प्राप्त ग¥यौं भन्यो । राजनीतिक स्थायित्वको बाटोबाट मुलुकको समृद्धि प्राप्त गर्ने भन्यौं । आन्तरिक विवाद हुनुमा उनीहरूले चासो राख्ने कुरालाई अन्यथा लिनुहुँदैन । चिनियाँ प्रतिनिधिमण्डलको भ्रमणबारे विभिन्न चासो उठाएका छन्, हाम्रो आन्दोलन स्वतन्त्र रूपमा अघि बढेको हो । मुलुकको परिवेशअनुसार अघि बढाउनुपर्छ भनेर हामीले हिजो आन्दोलन लगेका हौं । जनताको बहुदलीय जनवाद भन्यौं । मानव अधिकार, लोकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चतालाई मान्नेछन् । हामीले कसैको धुरी लिएनौं । अहिले हामीले लिने निर्णयमा अरू कसले के भन्छ भन्ने कुरा, हाम्रो सबैसँग राम्रो सम्बन्ध छ ।’

डा. भट्टराईले नेपालको सबैसित राम्रो सम्बन्ध रहेको र सबैसँग सुमधुर सम्बन्ध राख्न चाहेका पनि उल्लेख गर्नुभयो । 

‘चिनियाँ कम्युनिष्ट पार्टीसँग पनि राम्रो सम्बन्ध राख्न चाहन्छु । भारतीयहरूसँग पनि राम्रो सम्बन्ध चाहन्छौं । जापानिज, कोरियन, अमेरिकन, बंगलादेशी, श्रीलंकन सबैसित हामी राम्रो सम्बन्ध राख्न चाहन्छौं । त्यो सम्बन्ध हाम्रो एउटा पाटो हो । आन्तरिक मामिलामा निर्णय लिँदा हामी स्वतन्त्रपूर्वक लिन्छौं । उहाँहरू आउनुभयो, बुझ्नुभयो । अनि जानुभयो । यसलाई अरू हिसाबले बुझ्न आवश्यकता छैन ।’


Views: 71