25th February | 2021 | Thursday | 7:58:24 AM

के खिया लागेको दुईटा नटबोल्टु खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो : प्रधानमन्त्री ओली

हिमालय टाइम्स   POSTED ON : पुष १८, २०७७ (५:५१ PM)

के खिया लागेको दुईटा नटबोल्टु खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल पक्षलाई व्यङ्य गर्दै दुई वटा काम नलाग्ने नटबोल्टु खस्दा पार्टी गतिशिल भएको बताउनु भएको छ । 

काठमाडौंमा शनिवार आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तीन बर्षसम्म गतिशिल, श्रमशिल कार्यकर्तालाई भूमिका नदिनाले पार्टीका उदयमान कार्यकर्ता हल न चल भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालतिर लक्षित गर्दै भन्नुभयो, ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्टु, खिया लागेको दुईटा नटबोल्टु के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’

प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिकता आफूसँगै रहेको भन्दै प्रचण्ड–नेपाल पक्ष असली हामी हौं भन्दै निर्वाचन आयोग गएकोमा व्यंग्य गर्नुभएको थियो । बरमझियाको असली बुढोको पेडा पसल जसरी पार्टीलाई आफुले असली नक्कली भनि रहनु नपर्ने उहाँको भनाइ थियो ।

 सूर्य चिन्ह र नेकपा आफ्नै नेतृत्वमा रहने बताउँदै उहाँले प्रचण्ड–नेपाल पक्षले पार्टीको आधिकारिकता दावी गर्नु चार्ली च्याप्लिनको खेल जस्तै हो भन्ने टिप्पणी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अदालतले चार्ली च्याप्लिन चिन्न गल्ति गर्दैन । निर्वाचन आयोगले गल्ति गर्दैन । जुँगा हेरेर चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ, कुम हल्लाएको देखेर चिन्छ चार्ली च्याप्लिन को हो भनेर । सूर्य चिन्ह हामीसँग हुन्छ,पार्टी हाम्रो हो ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले बहुमत हामीसँग छ भन्नु गफमात्र भएको बताउँदै भन्नुभयो, कहाँको बहुमत ? कुन महाधिवेशनको बहुमत ? कुन कार्यकर्ताको बहुमत ? कहाँबाट आयो बहुमत ? तपाईहरुले उनीहरुलाई भोट हाल्नुभएको छ ? भन्दै कार्यकर्तालाई प्रश्न गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूबिरुद्ध प्रचण्ड –नेपाल समुहले केही दिन अघि राजधानीमाा लगाएको आपत्तिजनक नाराबारे सामाजिक मर्यादा ख्याल गर्न सुझाउँदै भन्नुभयो, ‘उहाँहरुले नारा लगाएको देख्नुभयो नि ? कठैबरा, देख्नेहरुलाई पनि धेरै लाज भइसक्यो, सामाजिक मर्यादा ख्याल गरेको भए हुन्थ्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले धेरै बर्ष अगाडि भनेको थिए, गोरु नांगो देख्दा मलाइ लाज लाग्दैन । त्यो नाराबारे अहिले यत्ति मात्रै भनौं ।’


Views: 123