25th February | 2021 | Thursday | 8:08:03 AM

अवसरवादी चरित्र र कुण्ठाका कारण पार्टीमा समस्या : उपप्रधानमन्त्री पोखरेल

हिमालय टाइम्स   POSTED ON : पुष १८, २०७७ (६:०६ PM)

अवसरवादी चरित्र र कुण्ठाका कारण पार्टीमा समस्या : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी चरित्र र माधवकुमार नेपालको कुण्ठाका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको दाबी गर्नुभएको छ ।

ओली पक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले दाहालको अवसरवादी चरित्र र नेपालको कुण्ठाका कारण नेकपामा विवाद उत्पन्न भएको दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभयो–‘प्रचण्ड अवसरवादका लागि जे पनि गर्न लज्जाबोध नगर्ने र नेपालको कुण्ठाका कारण अहिले पार्टीमा समस्या उत्पन्न भएको हो । राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव पारित गर्ने तयारी पहिलेदेखि रहेछ । राष्ट्रपति कार्यालयमा विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर लिएर पुग्नु यसको उदाहरण हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आउनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेकै कारण पार्टीमा विभाजन नआएको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले पार्टीका केही नेताहरूको पदलोलुपताका कारण विभाजन आएको पनि दावी गर्नुभयो । ‘केही साथीहरुले असंवैधानिक कदम चालेको भनी मन दुखाउनु भएको छ,’ उहाँले भन्नुभयो, ‘घटनाहरु एक्लाएक्लै एकै पटक प्रकट हुँदैनन् । यो परिस्थिति आउनुको पछाडि हिजोका भ्रुणहरु कारक हुन् । यसको कारण नांगो रुपमा पार्टी विभाजनको रुपमा आएको हो ।’

महाधिवेशनबाट आएको प्रधानमन्त्री र संसदीय दलको नेतालाई बीचमै हटाउन खोज्नु गलत भएको उहाँको भनाइ थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले म अब अध्यक्ष हुनेछैन, म अध्यक्ष दिन्छु भन्नु भएको थियो,’ पोखरेलले भन्नुभयो, ‘दोस्रो तहका व्यक्तिलाई दिऊँ भन्दा किन घोसे मुन्टो लगाएको ? उहाँहरु कति वर्षदेखि  नेतृत्वमै हुनुहुन्छ ? उहाँहरू अहिले नै नगद माग्नुहुन्छ ।’

 


Views: 88