25th February | 2021 | Thursday | 7:51:36 AM

नेकपा ओली पक्षको काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’–प्रचण्ड–माधव पक्षप्रति कटाक्षको वर्षा

हिमालय टाइम्स   POSTED ON : पुष १९, २०७७ (८:४८ AM)

नेकपा ओली पक्षको काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’–प्रचण्ड–माधव पक्षप्रति कटाक्षको वर्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ‘बृहत् कार्यकर्ता भेला’ आयोजना गरेको छ । ओली पक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘बृहत् कार्यकर्ता भेला’ आयोजना गरेको हो ।

भेलालाई प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको छ । यसअघि गत बुधबार ओली पक्षीय नेकपाले बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेला आयोजना गरेको थियो ।

गत पुस ५ गते ताजा जनादेशमा जाने भन्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह असन्तुष्ट बनेको छ । प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित नेकपाको ओली समूह र प्रचण्ड–नेपाल समूह छुट्टाछुट्टै भेला गर्दै आएका छन् ।

दाहाल–नेपाल खिया लागेका ‘नट–बोल्ट’ : प्रधानमन्त्री ओली

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतृत्व गरिरहनुभएका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई खिया लागेका ‘नट–बोल्ट’ को संज्ञा दिनुभएको छ ।

ओली पक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘बृहत् कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले दाहाल–नेपाल समूहको नेकपाका अध्यक्षद्वयलाई खिया लागेका ‘नट–बोल्ट’ को संज्ञा दिनुभएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले खिया लागेका ‘नट–बोल्ट’कै कारण एकताको तीन वर्षसम्म पनि पार्टी हलचल नभएको बताउनुभयो । ‘समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि,’ उहाँले भन्नुभयो, ‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट,’ दाहाल–नेपालतर्फ इंगित गर्दै उहाँले व्यंग्य गर्नुभयो ।

प्रधानमन्त्री ओलीले खिया लागेका ‘नट–बोल्ट’ खुस्किएपछि पार्टी पनि गतिका साथ अगाडि बढेकोसमेत टिप्पणी गर्नुभयो । ‘खिया लागेको दुईवटा नट–बोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो,’ उहाँले व्यंग्य गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई आगामी निर्वाचनमा १० सिट जितेर देखाउनसमेत चुनौती दिनुभयो । प्रतिनिधिसभा विघटनको घोषणासँगै तय गरिएको वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनको परिणामले नेकपाबाट कसले कसलाई निकालेको स्पष्ट हुने उहाँको भनाइ थियो । 

ओलीले पार्टीबाट हराएका मान्छेहरूले विभिन्न स्थानमा भेला गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । ‘हाम्रो पार्टीबाट हराएका केही मान्छेहरूले एउटा सभा गरेछन्,’ उहाँले भन्नुभयो, ‘त्यहाँ त दुईवटा दर्शनढुंगा ठोक्किएजस्तो भएछ । एउटा पक्षले एउटा नारा लगाए अर्कोले अर्कै लगाएछन् ।

प्रधानमन्त्री ओलीले अर्कोको खेलौना खेलाइरहेको बालकले आफ्नो दाबी गरेजस्तै दाहालले पार्टीमा दाबी गरेको टिप्पणी गर्नुभयो । ‘खेलौना रहेको बालकसँग अर्को बालक पुगेछ, एकैछिन सँगै बसेर खेलेछ तर पछि खेलौना मेरो हो भनेर हिँडेछ,’ उहाँले भन्नुभयो, ‘कस्तो प्रचण्डजस्तो बालक रहेछ ! एकैछिन कार्यकारी के यसो दिएको थिएँ । सबै मेरो पो हो भन्न थाले ।’

ओलीले नेकपा र सूर्य चूनाव चिह्न आफूहरूको हुनेसमेत दाबी गर्नुभयो । ‘अदालतले जुँगा हेरेर चिन्छ, कुम हल्लाएको बाटै को हो भन्ने चिन्छ, जेल लगाएको कपाल हेरेर चिन्छ । चार्ली च्याप्लिनजस्तो नचिन्ने होइन । सूर्य चिह्न हामीसँग हुन्छ । पार्टी हाम्रो हो,’ उहाँले भन्नभयो ।

अवसरवादी चरित्र र कुण्ठाका कारण समस्या : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहालको अवसरवादी चरित्र र माधवकुमार नेपालको कुण्ठाका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद उत्पन्न भएको दाबी गर्नुभएको छ । ओली पक्षीय नेकपाको ‘बृहत् कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले दाहालको अवसरवादी चरित्र र नेपालको कुण्ठाका कारण नेकपामा विवाद उत्पन्न भएको दाबी गर्नुभएको हो ।

‘प्रचण्ड अवसरवादका लागि जे पनि गर्न लज्जाबोध नगर्ने र नेपालको कुण्ठाका कारण अहिले पार्टीमा समस्या उत्पन्न भएको हो । राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव पारित गर्ने तयारी पहिलेदेखि रहेछ । राष्ट्रपति कार्यालयमा विशेष अधिवेशन बोलाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर लिएर पुग्नु यसको उदाहरण हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्दै आउनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकै कारण पार्टीमा विभाजन नआएको उहाँको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले पार्टीका केही नेताहरूको पदलोलुपताका कारण विभाजन आएको पनि दाबी गर्नुभयो । ‘केही साथीहरूले असंवैधानिक कदम चालेको भनी मन दुखाउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘घटनाहरू एक्लाएक्लै प्रकट हुँदैनन् । यो परिस्थिति आउनुको पछाडि हिजोका भ्रूणहरू कारक हुन् । यसको कारण नांगो रूपमा पार्टी विभाजनको रूपमा आएको हो ।’

महाधिवेशनबाट आएको प्रधानमन्त्री र संसदीय दलको नेतालाई बीचमै हटाउन खोज्नु गलत भएको उहाँको भनाइ थियो । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले म अब अध्यक्ष हुनेछैन, म अध्यक्ष दिन्छु भन्नुभएको थियो,’ पोखरेलले भन्नुभयो, ‘दोस्रो तहका व्यक्तिलाई दिऊँ भन्दा किन घोसे मुन्टो लगाएको ? उहाँहरू कति वर्षदेखि नेतृत्वमै हुनुहुन्छ ? उहाँहरू अहिले नै नगद माग्नुहुन्छ ।’

पद लोलुपताका कारण पार्टी विभाजन : गृहमन्त्री थापा

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाका सचिवालय सदस्य रामबहादुर थापाले पद लोलुपताका कारण पार्टी विभाजन भएको बताउनुभएको छ । ओली पक्षीय नेकपाको ‘बृहत् कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै थापाले पद लोलुपताका कारण पार्टी विभाजन भएको बताउनुभएको हो ।

‘फुटेर जाने नेताहरूको राजनीतिक ‘कू’ को तयारी थियो । प्रधानमन्त्री हटाउने, अविश्वासको प्रस्ताव ल्याउने तयारी थियो । त्यसैले प्रधानमन्त्रीले राजनीतिक निर्णय लिनुपरेको थियो,’ उहाँले भन्नुभयो । गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन र ‘कू’ रोक्ने साहसिक कदम भएको जिकिर गर्नुभयो ।

‘संवैधानिकभन्दा पनि यो राजनीतिक निर्णय हो । प्रतिगमन र ‘कू’ लाई रोक्ने ठूलो साहसिक कदम हो । यो कदम संवैधानिक हो कि असंवैधानिक भन्ने कुरा अदालतले फैसला गर्छ । यो अग्रगामी कदम हो । यसले प्रतिगमन रोक्यो । भविष्यले यो प्रमाणित गर्नेछ यो कदम सही थियो,’ उहाँले भन्नुभयो । 

गृहमन्त्री थापाले प्रतिगमनलाई पुनःस्थापना गर्न चाहने प्रतिगामीहरूले नेकपा विभाजनको षड्यन्त्र गरेको र नेकपा त्यहीँ षड्यन्त्रमा परेको पनि दाबी गर्नुभयो । ‘दुई तिहाईसहितको मत दिएर जनताले एउटा बलियो सरकार दिएका थिए,’ उहाँले भन्नुभयो, ‘प्रतिगामीहरूले गुमेको सत्ता प्राप्त गर्न र प्रतिगमतलाई पुनःस्थापना गर्न नेकपालाई विभाजित गर्ने रणनीति तय गरे, अनि नेकपा त्यसैमा परेको छ ।’

सत्तारूढ नेकपाकै अर्को समूहले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भनिरहेका बेला गृहमन्त्री थापाले उक्त कदम रूपमा प्रतिगमनजस्तो देखिए पनि सारमा अग्रगामी कदम भएको बताउनुभयो । ‘रूपमा प्रतिगमनमा गएको देखिए पनि सारमा हामी अग्रगामी भएका छौं,’ उहाँले भन्नुभयो । 

सरकाले पृथकतावादी आन्दोलनलाई समाप्त पारेको, देशको भौगोलिक अखण्डताको लागि महत्वपूर्ण कदम उठाएको, भौगोलिक अखण्डता र कम्युनिष्ट आन्दोलनको पक्षमा नेतृत्वले ऐतिहासिक उपलब्धि हासिल गरेको जिकिर गर्दै गृहमन्त्री थापाले निराश हुनुपर्ने आवश्यकता नै नभएको बताउनुभयो ।


Views: 69