25th February | 2021 | Thursday | 7:12:07 AM

प्रचण्ड–माधव समूहद्वारा सरकारविरुद्ध दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : पुष १९, २०७७ (८:५२ AM)

प्रचण्ड–माधव समूहद्वारा सरकारविरुद्ध दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सरकारविरुद्ध दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संघर्ष समितिले शनिबार कोटेश्वर पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर पुस २० देखि माघ २३ गतेसम्म प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउने, गाउँ–गाउँमा कालो झण्डा गाड्ने, सरोकारवाला पक्षसँग अन्तरक्रिया, प्रदर्शन र सभालगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध पहिलो चरणका कार्यक्रम समापन भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

दोस्रो चरणको विरोध प्रदर्शन कार्यक्रमपछि सञ्चारकर्मीहरूसँगको कुराकानीको क्रममा प्रवक्ता श्रेष्ठले सत्ताको बलमा गरेको असंवैधानिक कदम असफल हुने बताउनुभयो । ‘सत्ताको र शक्तिको बलमा भएका यस्ता असंवैधानिक कदमको विरोध गर्नका लागि दोस्रो चरणको कार्यक्रम ल्याएका हौँ । पहिलो चरणको हामीले सफल बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘असंवैधानिक कदम चाल्नेहरूको प्रयास सफल हुँदैन । नेपालको संविधान पनि कहीँ छैन । सोहीअनुसार हामीले यस्ता कदमलाई छिट्टै असफल पाछौँ ।’

दोस्रो चरणको आन्दोलन पनि प्रतिगामी र असंवैधानिक कदमविरुद्ध केन्द्रित रहेको उहाँले बताउनुभयो । ‘निर्वाचित सरकारले नै असंवैधानिक कदम थालेकाले सबैलाई संगठित गराउन चाहन्छौँ । संविधानमा नभएको सरकारी शक्तिको कारणले भएको यस्ता कदमविरुद्ध हामी लागिरहन्छौँ’ उहाँले भन्नुभयो । 

संघर्षका कार्यक्रममा पुस २० गते पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने । पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरमा राजनीतिक पार्टीहरूसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तक्रिया कार्यक्रम गर्ने । पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया गर्ने । पुस २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने रहेका छन् । 

यस्तै, पुस २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम गर्ने । पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम गर्ने । पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरूमा विरोध प्रदर्शन – *(तर, पुस २९ को महिना छ ।) माघ ५ गते पालिकाहरूमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल ¥याली निकाल्ने जस्ता कार्यक्रम छन् ।

यसैगरी, माघ १६ र १७ गते सबै प्रदेशमा विरोधसभा राखिएको छ भने माघ २२ गते देशव्यापी मसाल जुलुस गर्ने कार्यक्रम नेकपाको प्रचण्ड–माधव समूहले गरेको छ भने माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने बताइएको छ ।

यही पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि नेकपा विभाजन भएको थियो । यसको विरोध गर्दै अन्य पार्टी पनि सडकमा छन् । प्रचण्ड–माधव समूहले पनि आन्दोलन गर्दै आएको छ । प्रचण्ड–माधव समूहले आन्दोलन परिचालनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । संसद् विघटनपछि सडकमा आएको प्रचण्ड–माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर, कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुचि नदेखाएका कारण एक्लै दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेको हो । ‘यो असंवैधानिक कदम हो भन्नेमा हाम्रो समान धारणा रहृयो, तर कांग्रेसले केन्द्रीय कमिटी बैठकले निर्णय नगरेका कारण संयुक्त संघर्षको स्थिति रहेन ।’ आ–आफ्नो कार्यक्रम जारी राख्ने र संयुक्त रूपमा प्रहार गर्ने समझदारी भएको श्रेष्ठले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले संसद् पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ भने नेकपा र सूर्य चिहृन आफ्नो भएको दुवै समूहले निर्वाचन आयोगलाई भनेका छन् ।


Views: 102