8th March | 2021 | Monday | 6:02:28 AM

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सकियो

हिमालय टाइम्स   POSTED ON : पुष १९, २०७७ (५:१९ PM)

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सकियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । 

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा आज बसेको बैठक पार्टी एकीकरण र जिम्मेवारीका सम्बन्धमा केही कार्यदल गठन गरेको छ । 

 बैठकले पार्टीको कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष नेपालको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत सदस्य रहनुभएको छ । पार्टी विभाजनतर्फ गएपछि पार्टीका विभिन्न समितिमा अध्यक्ष, सचिव, इन्चार्जलगायत जिम्मेवारी सम्हालेका नेताहरु दुईतर्फ बाँडिएपछि रिक्त रहेका पदमा कार्यदलले नेता चयन गर्ने बताइएको छ ।

पार्टी एकीकरणका बाँकी रहेका काम सम्पन्न गर्न र पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्याको कारण रिक्त भएका स्थानमा जिम्मेवारी प्रदान गर्न कार्यदल निर्माण गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो ।

बैठकमा सहभागी अर्का स्थायी कमिटी सदस्य गणेश शाहले निर्वाचन आयोगसँग सम्बन्धित कामहरुको समन्वय गर्न स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो ।

‘निर्वाचन आयोगसँग डिल गर्न गिरिराजमणीजीको संयोजकत्वमा कमिटी गठन भएको छ,’ उहाँले भन्नुभयो । नेता शाहले सोमबार बस्ने स्थायी कमिटी बैठकले प्रदेश इन्चार्जहरुका बारेमा निर्णय हुने जानकारी दिनुभयो । उहाँले सोमबार मध्यान्ह १२ बजे फेरि स्थायी कमिटी बैठक बस्ने पनि बताउनुभयो । 


Views: 84