25th February | 2021 | Thursday | 8:36:56 AM

चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन :प्रधानमन्त्री ओली

  POSTED ON : पुष २०, २०७७ (९:१३ AM)

चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन :प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक इजलासलाई संसद् पुनःस्थापना हुन नसक्ने जवाफ दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित विद्यार्थी संगठनको भेलालाई आइतबार सम्बोधन गर्र्दै प्रधानमन्त्री ओलीले ‘मरेको संसद् ब्यूँताई पाऊँ’ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव हुने भन्दै कुनै हालतमा संसद् पुनःस्थापना नहुने दाबी गर्नुभयोे । संसद् पुनःस्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको बताउँदै ओलीले भन्नुभयो, ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइ पाऊँ भन्दा हुन्छ र ?’, ओलीले भन्नुभयो, ‘संविधान र कानुनले मिल्दैन । विघटित संसद् बौरिँदैन । संसद् विघटन भयो भयो, नयाँ चुनाव हुन्छ हुन्छ ।’

कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिँजाउन खोजेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रममा नपर्न आग्रह गर्नुभयोे, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले सक्ने छैन’, उहाँले भन्नुभयो । प्रतिनिधिसभाको चुनाव नेपाली जनता र देशको आवश्यकता भएकाले चुनाव तोकिएकै समयमा हुने उहाँको भनाइ छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार आफूले खोसेको बताउनुभयो । ‘प्रचण्डलाई कार्यकारी अधिकार दिएको थिएँ । उहाँले उपद्रव गर्नुभयो, त्यसैले मैले कार्यकारी अधिकारबाट हटाइदिएँ’, उहाँले भन्नुभयो । त्यस पदका साथै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको पद पनि राखिरहेको उहाँले बताउनुभयो । ओलीले नेता नारायणकाजी श्रेष्ठप्रति लक्षित गर्दै प्रवक्ताले धेरै दुर्गन्धित काम गरेका कारण हटाएँ, तर पनि सचिवालय सदस्य राखिरहेका छौँ र पार्टीबाट कसैलाई ननिकालेको बताउनुभयो । ‘फिर्ता आउनुस् अपराध माफ गरिदिउँला । पार्टीबाटै कसैलाई हटाएको छैन’, उहाँले भन्नुभयो । 

सूर्य चिह्नको दाबी गरेर निर्वाचन आयोगमा जानुको कुनै अर्थ नभएको भन्दै ओलीले अध्यक्ष दाहाल पक्षलाई पार्टीमा सच्चिएर फिर्ता आउन आग्रह गर्नुभयो । ‘सडकमा अहिले केही व्यक्ति हामी यहाँ छौँ भनेर बसिराख्नुभएको छ । पछि म यहाँ छु भनेर बस्ने दिन आउँछ, त्यसलै तपाईंहरू अब सच्चिएर आउनुहोस्’, उहाँले भन्नुभयो । ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरूलाई पार्टीमा आउन आग्रह गर्दै भन्नुभयो, ‘तपाईंहरूलाई कुर्सीको पीर भएकाले कुर्सी यथावत राखिएको छ आउनुस् ।’ उहाँले अगाडि भन्नुभयो, ‘उहाँहरू आउनुभएन भने पनि यो अभियान अगाडि बढ्छ । दुई–चारवटा पिलो निचोरियो भने पनि वजन घटेको हुन्न भनेजस्तै अझ पीडारहित भएर अगाडि बढ्छ ।’

पार्टी विभाजन गर्नका लागि प्रचण्ड–माधव पक्षले ३१५ बैठक गरेको बताउँदै ओलीले वैशाख १३ गतेदेखि पुस ४ गतेसम्म ३१५ बैठक बसेकामा २८० बैठक दाहाल निवास खुमलटारमा बसेको बताउनुभयो । ओलीले पार्टी विभाजनका लागि प्रचण्ड–माधव पक्षले सयौं भेला गरेको खुलासा भएको दाबी गर्नुभयो । ‘वैशाख १३ देखि पुस ४ सम्म खुमलटारमा मात्रै पार्टी फुटाउने बैठक २८० बसेका रहेछन् । गनेर मैले रेकर्ड हेरेँ । ३५ बैठक बाहिर बसेका रहेछन्, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्सियल कलेजमा, कहिले अँगेनाको डिलमा । अनि अर्याल होटेलमा । कहिले कसको घर त कहिले कसको घरमा,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

‘पार्टी फुटाउने, सरकारलाई काम गर्न नदिने, नेतृत्वलाई झुठा आरोप लगाएर खुइल्याउने काम भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रियता कमजोर पार्न, पार्टी कमजोर पार्न र सरकारको कामलाई कमजोर पार्ने षड्यन्त्र मात्र उहाँहरूबाट भयो ।’ प्रचण्ड–माधव पक्षले षड्यन्त्रबाहेक केही नगरेको उहाँले आरोप लगाउनुभयो । महिलामाथिको अपमान गर्न छुट कसैलाई नभएको बताउनुहुँदै अध्यक्ष ओलीले सडकमा लागेका नारा सुन्नै नसक्नेखालका रहेको बताउनुभयो । पार्टी फुट हुनबाट जोगाउन आफूले प्रयास गरिरहेको भए पनि पार्टीका केही साथीहरू पार्टी जोडिन नदिने अभियानमा लागेको उहाँको टिप्पणी थियो । पार्टीभित्रै बसेर समस्या र अड्चन गर्ने काम गर्नुभएकाले संसद् विघटन गर्नुपरेको बताउनु हुँदै अध्यक्ष ओलीले पार्टीभित्रै रहेर ‘हरियो सर्प’को भूमिका नेताहरूले खेलेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले नक्सामा छापिएअनुसारको भूमि फिर्ता ल्याएर भोगचलन गर्ने बताउँदै ‘जस मलाई नदिनुस् । तर, मेरो नेतृत्वमा त भएकै हो नि’, भन्नुभयो । उहाँले विद्यार्थीमाथि देश र जनताले विश्वास र भरोसा गरेकाले देश बनाउने अभियानमा एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको थियो ।

ओलीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आइतबार भएको विद्यार्थीको भेला हुनुअघि विद्यार्थीको जुलुस सहरका विभिन्न भागमा परिक्रमा गरी माइतीघर पुगेको थियो । जुलुसमा सहभागी विद्यार्थीले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको समर्थनमा नाराबाजी गरेका थिए । 

प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड–माधव पक्ष विरोधका कार्यक्रममा केन्द्रित बनेको छ भने ओली पक्षले चुनावीसभाको झल्को दिनेगरी कार्यकर्ता भेलामा व्यस्त छ । काठमाडौंमा आयोजना भएका कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले लगातार सम्बोधन गर्दै आउनुभएको छ । सम्बोधनमा ओलीले प्रचण्ड–माधव पक्षको चर्को आलोचना गर्दै आउनुभएको छ ।


Views: 64