25th February | 2021 | Thursday | 7:52:24 AM

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने कांग्रेसको घोषणा

  POSTED ON : पुष २०, २०७७ (९:२० AM)

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने कांग्रेसको घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध चरणबद्ध रूपमा देशव्यापी आन्दोलनको घोषणा गरेको हो । 

बैठकले पुस २५ गते देशभरका ३३० प्रदेशसभा क्षेत्रमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले माघ ३ गते ७५३ स्थानीय तहमा र माघ ८ गते छ हजार ७४३ वडाहरूमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बैठकले जिल्ला कार्यसमितिहरूले पनि केन्द्रले निर्धारण गरेको कार्यक्रमसँग नजुध्ने गरी थप आन्दोलनका कार्यक्रम गर्न सक्ने निर्णय गरेको छ । कांग्रेसले यसअघि पुस १३ गते पनि प्रतिनिधिसभा विघटनविरुद्ध १६५ संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गरेको थियो ।

बैठकपछि कांग्रेसले वक्तव्य जारी गरेर ओली नेतृत्वको सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थितिमा नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन सबै प्रयत्न केन्द्रित गरिएको जनाएको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी वक्तव्यमार्फत् कांग्रेसले प्रतिनिधिसभा विघटनपछि पार्टीका बारेमा आएका समाचारको समेत खण्डन गरेको छ ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरी देशव्यापी विरोध प्रदर्शनहरू समेत गरिरहेको यथार्थविपरीत पार्टीभित्र दुई खाले धारणा रहेको भनेर केही सञ्चार माध्यममा आएका समाचारको कांग्रेसले खण्डन गरेको हो ।

‘संसद् विघटनको असंवैधानिक कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ,’ वक्तव्यमा भनिएको छ, ‘फेरि पनि यो सुस्पष्ट गर्दै गलत समाचारहरूप्रति खेद प्रकट गर्दै भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी पार्टी निर्णयको आधारमा समाचार सम्प्रेषणका लागि सबै सञ्चार माध्यमलाई नेपाली कांग्रेसको यो बैठक हार्दिक आग्रह गर्दछ ।’

कांग्रेसले पुस ५ गते प्रतिनिधिसभा विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व–पदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गरेको, पुस ६ गते सर्वदलीय बैठक आयोजना गरेको, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको स्मरण पनि गराएको छ ।

आइतबारको बैठकले कांग्रेसमा विलय भएका दल र अन्य दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरूको क्रियाशील सदस्यताको नामावलीलाई ‘अन्य राजनीतिक दल समायोजन समिति’ ले अन्तिम टुंगो गरेबमाजिम पारित गरेको छ । २०७५ कात्तिक २० गतेको बसेको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसमा विलय भएका दल र अन्य दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्ता र क्रियाशील सदस्यहरू समायोजनका लागि ‘अन्य राजनीतिक दल समायोजन समिति’ गठन गरेको थियो ।

कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको अन्तिम मिति माघ मसान्त निर्धारण गरेको छ । आइतबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र जीवनबहादुर शाहीले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक पुस २७ गते सोमबार दिउँसोे १ बजे बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो । 


Views: 31