16th January | 2021 | Saturday | 9:01:59 AM

चुनावको माहोल बनाउन आफु निकट स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्रीको निर्देशन

हिमालय टाइम्स   POSTED ON : माघ १, २०७७ (६:४१ PM)

चुनावको माहोल बनाउन आफु निकट स्थायी कमिटी सदस्यलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यहरुसँग मुलुकको पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्नुभएको छ ।

उहाँले बिहीबार संघीय राजधानी काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर पुस ५ पछि मुलुकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाका स्थायी कमिटी सदस्य सुभासचन्द्र नेम्वाङले बालुवाटारमा स्थायी कमिटी सदस्यहरुका बीचमा अनौपचारिक छलफल भएको पुष्टि गर्नुभयो । ‘स्थायी कमिटीका सदस्यहरुको अनौपचारिक भेटघाट थियो,’ उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘त्यो भेटमा प्रधानमन्त्रीज्यूको पनि उपस्थिति थियो ।’

उहाँका अनुसार स्थायी कमिटीको अनौपचारिक छलफलमा प्रधानमन्त्री ओलीले देशभरीको स्थिति, निर्वाचन आयोग, सर्वोच्च अदालतका बारेमा ‘बिफ्रिङ’ गर्नुभएको थियो । ‘देशभरीको स्थिति, निर्वाचन आयोग, सर्वोच्च अदालतका सबै प्रसंगको बारेमा बिफ्रिङ भयो,’ नेम्वाङले भन्नुभयो ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि देशभर भइरहेका राजनीतिक गतिविधिहरु सकारात्मक रहेका प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले देशभर भइरहेका गतिविधिहरुलाई अहिलेकै अवस्थामा अघि बढाउँदै आगामी वैशाख १७ र २७ गते निर्वाचन गराउनुपर्ने पनि बताउनुभयो ।

‘अहिले देशव्यापी जे भइरहेको छ यो सकारात्मक छ । यसलाई यही रुपमा अघि बढाउँदै वैशाख १७ र २७ गते चुनाव गराउनुपर्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूको रह्यो,’ स्थायी कमिटी सदस्य नेम्वाङले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते बसेको मन्त्रिरिषद् बैठकबाट प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्ताव गर्नुभएको थियो । उहाँले सोही दिन प्रतिनिधिसभा विघटनको घोषणा गरेर नयाँ जनादेशमा जानुपर्ने भन्दै आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचनको मिति पनि तय गर्नुभएको थियो ।      


Views: 38