22nd January | 2021 | Friday | 1:07:27 PM

दाहाल–नेपाल समूहले सरकारविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने

हिमालय टाइम्स   POSTED ON : माघ १, २०७७ (९:१६ PM)

दाहाल–नेपाल समूहले सरकारविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रतिनिधिसभा पुनःस्थापनाका लागि जारी सरकारविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेको छ ।

कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बिहीबार स्थायी कमिटी बैठक बोलाएर दाहाल–नेपाल समूहले पुस ५ गते विघटित प्रतिनिधिसभा पुनःस्थापनाका लागि जारी सरकारविरुद्धको आन्दोलनलाई थप प्रभावकारी रुपमा अघि बढाउने विषयमा छलफल गरेको हो ।

बैठकमा सहभागी स्थायी कमिटी सदस्य गणेश शाहले सरकारविरुद्ध जारी पार्टीको दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाएर अघि बढाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाँले बैठकबाट कुनै निर्णय भने नगरिएको बताउनुभयो ।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका गतिविधिका बारेमा स्थायी कमिटी सदस्यहरुलाई ‘ब्रिफिङ’ गरिएको छ । स्थायी कमिटी सदस्य शाहका अनुसार स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले निर्वाचन आयोग र अर्का स्थायी कमिटी सदस्य देव गुरुङले सर्वोच्च अदालतमा भइरहेका गतिविधिका बारेमा बैठकलाई ‘ब्रिफ’ गर्नुभएको थियो ।

‘निर्णय केही भएको होइन । बैठकमा एजेन्डा पेश गर्नक लागि रिपोर्टिङ गर्ने काम भयो,’ उहाँले हिमालय टाइम्ससँग भन्नुभयो,’ ‘लिलामणीजीले निर्वाचन आयोगमा र देव गुरुङजीले सर्वोच्च अदालतमा के भइरहेको छ भन्ने बारेमा रिपोर्टिङ गर्नुभयो ।’

शाहले शुक्रबार बस्ने बैठकमा सरकाविरुद्धको आन्दोलन प्रभावकारी बनाउने र पार्टी संगठनको एजेन्डा पेश हुने जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान ११ बजे फेरि स्थायी कमिटीको बैठक बस्ने छ ।

दाहाल–नेपाल समूहले बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निर्वाचन आयोगमा चुनाव चिह्न र पार्टीका बारेमा बुझाएको पत्रको प्रतिलिपी अध्ययनका लागि बाँडेको छ ।

यसैबीच अध्यक्ष माधवकुमार नेपालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लाौखौं जनता सडकमा उतार्नेबारे छलफल भएको प्रतिक्रिया दिनुभएको छ । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले प्रधानमन्त्री ओलीको कदमविरुद्ध लाखौं जनता सडकमा कसरी उतार्ने भन्ने विषयमा छलफल भएको प्रतिक्रिया दिनुभयो ।

दाहाल–नेपाल समूहले गत पुस १८ गते सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । पुस २० गतेबाट सुरु भएको प्रचण्ड–नेपाल समूहको दोस्रो चरणको सरकारविरोधी आन्दोलन माघ २३ गतेसम्म तय गरिएको छ । आन्दोलन अन्तर्गत वडा तहदेखि संघीय राजधानीसम्ममा प्रदर्शन गर्ने लगायतका कार्यक्रम तय गरिएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले पहिलो चरणमा गत पुस १४ देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।

पुस १५ गते बसेको उक्त समूहको स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारविरुद्धको संघर्षका लागि अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको थियो । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) सँग सरकारविरुद्धको संघर्षका लागि ठोस सहमति नजुटेपछि दाहाल–नेपाल समूहले एक्लै संघर्षलाई अगाडि बढाउने निर्णय गरेको थियो ।    



Views: 37