8th March | 2021 | Monday | 9:36:03 AM

प्रदेश १ : प्रदेशसभा बैठक आज, अविश्वास प्रस्तावमा नेकपा दुई समूह तानातानमा, कांग्रेस निर्णायक

रमेश गाम्नागे   POSTED ON : माघ ७, २०७७ (९:२४ AM)

प्रदेश १ : प्रदेशसभा बैठक आज, अविश्वास प्रस्तावमा नेकपा दुई समूह तानातानमा, कांग्रेस निर्णायक

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज (बुधबार) बाट सुरु हुँदैछ । सत्तापक्षमै रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि आजबाट सुरु हुने प्रदेशसभा बैठकलाई महŒवका साथ लिइएको छ ।

दुईतिहाइ बहुमतको सरकारभित्रकै एउटा समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए पनि प्रदेशसभामा सो पक्ष एक्लैको सरकार परिवर्तनका लागि बहुमत नपुग्ने हुँदा बैठकको अघिल्लो दिन प्रचण्ड–माधव, ओली समूह र प्रतिपक्षी दल कांग्रेस छलफल र बैठकमा जुटे । नेकपाका दुई समूहका छुट्टाछुट्टै दल बैठक बसेर बहुमत आफ्नो पक्षमा पार्ने कसरत गरिरहँदा यो विषयको निर्णयक मानिएको कांग्रेसले पनि संसदीय दलको बैठक राख्यो, तर विना निष्कर्ष बैठक सकियो ।

नेपाल कम्युनिष्ट पार्टी दुई समुहमा विभाजन भए पनि कानुनी रूपमा फुटिनसकेकाले यो विषयमा कांग्रेस दुवै समूहलाई समर्थन नगर्ने मनस्थितिमा रहेको कांग्रेस नेता बताउँछन् । कांग्रेसले सदनमा यसो गरे अविश्वास प्रस्ताव असफल हुन्छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्की भन्नुहुन्छ, ‘सदनमा नेकपा सत्ता पक्ष नै हो, हामीले अविश्वास प्रस्ताव ल्याएको पनि होइन, नेकपा नफुटेसम्म हाम्रो समर्थन कुनै समूहमा नरहन सक्छ ।’ कांग्रेसको सहयोगबिना ओली र प्रचण्ड–माधव समूहमा बहुमत नपुग्ने र कांग्रेस पनि तटस्थ बस्दा प्रस्ताव नै असफल हुने निश्चित देखिएको हो । 

यता, कांग्रेस तटस्थ बस्ने मनस्थितिमा पुग्दासमेत नेकपाका दुई समूह आफ्नो पक्षमा बहुमत पु¥याउने कसरतमा भने लागेकै छन् । पाँच सांसदले प्रचण्ड–माधव समूहबाट हस्ताक्षर फिर्ता लिए पनि अहिले आफ्नो समूहमा ३६ सांसद रहेको प्रचण्ड–माधव समूहको दाबी छ । 

मंगलबार बसेको यो समूहका संसदीय दलको बैठकमा ३२ जना सांसद उपस्थित थिए । चार जना सांसद विराटनगर बाहिर रहेकाले बैठकमा आइनपुगेको उक्त समूहको भनाइ छ । अविश्वासको प्रस्ताव दर्ताको समय केही आफ्ना पक्षका सांसद हस्ताक्षर गर्न आइनपुगेकाले थोरै देखिए पनि आफ्नो पक्षमा बलियो बहुमत रहेको दाबी प्रचण्ड–माधव समूहको छ । 

प्रचण्ड–माधव समूहबाट हस्ताक्षर फिर्ता लिए पनि तीन सांसदले भने ओली पक्षलाई समर्थन गर्ने भनेर खुलेका भने छैनन् । सांसदहरू जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले सोमबार हस्ताक्षर फिर्ताको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको थियो । यता, मुख्यमन्त्रीको पक्ष अर्थात् ओली समूहले आफ्नो पक्षमा ३० सांसद पु¥याएको छ । अझै केही सांसदले आफूलाई आवश्यक परेको समयमा समर्थन गर्ने मुख्यमन्त्री शेरधन राई दाबी गर्नुहुन्छ । 

प्रदेश–१ मा ९३ जना प्रदेशसभा सदस्य छन् । त्यसमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६७, कांग्रेसका २१ र अन्य दलका पाँच सांसद छन् । नेकपाको समूह विभाजन हुँदा हालसम्म प्रचण्ड–माधव समूहमा ३६ र ओली समूहमा ३० सांसद खुलेका छन् । आ–आफ्नो समूहमा नेकपाभित्रैबाट तानातान भए पनि दुई कुनै समूहको सरकार निर्माणका लागि बहुमत पुग्दैन । अविश्वास प्रस्ताव पारित हुन वा बहुमत पुग्न ४७ मत आवश्यक पर्छ ।


Views: 67