8th March | 2021 | Monday | 8:46:56 AM

तयारी विनाको भ्रमणले नेपालको कमजोर प्रस्तुति देखायो : विज्ञ

केशव सावद   POSTED ON : माघ ७, २०७७ (९:२८ AM)

तयारी विनाको भ्रमणले नेपालको कमजोर प्रस्तुति देखायो : विज्ञ

काठमाडौं ।

नेपाल–भारतबीच चिसिएको सम्बन्ध सुमधुरतर्फ गएको छ । तर, तय भएका एजेण्डाहरूले बैठकमा प्रवेश नै नपाउनु राम्रो भने भएन । विवादित विषयमा छलफल नै नहुनुलाई सकारात्मक संकेतका रूपमा लिन सकिँदैन : डा. भेषबहादुर थापा, पूर्व–परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा नेपाललाई कमजोर देखाउने काम भएको छ । तर, नेपाल–भारतबीच जुन संवादहीनताको अवस्था थियो, त्यो संवादको मार्गतर्फ अघि बढेकाले यो सकारात्मक कुरा हो । अहिलेको विशेष परिस्थिति थियो । यस्तो बेलामा भारतीय प्रधानमन्त्रीले भेट दिनुपर्ने थियो । हाम्रो परराष्ट्रमन्त्रीले भ्रमणमा जानुअघि नै मिनिमम मापदण्ड नभई आउँदैन भन्ुपथ्र्यो, : डा. दिनेश भट्टराई, परराष्ट्रविद्

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण गलत समयमा भएको छ । हामी कमजोर भएको समयमा यो भ्रमण भएको छ, यस्तो समयमा जान हुँदैनथ्यो । सरकारकै स्टाटस नभएको समयमा कामचलाउ सरकार चल्दैछ । यस्तो बेला भ्रमण उचित थिएन : दीपकुमार उपाध्याय, पूर्व–राजदूत

परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा एजेण्डामा परेको विषयमा संवाद नहुनु सकारात्मक भएन । भारतले सीमाको कुरा उठाएन । नेपालले उठाउन खोजे पनि भारत त्यसको संयन्त्र अलग्गै भएका कारण सचिवस्तरीय संयन्त्र र प्राविधिक संयन्त्रले काम गर्ने भनेर पन्छियो, जुन गलत भयो : बुद्धिनारायण श्रेष्ठ, सीमाविद्

सीमा विवादको मुद्दालाई प्राथमिकताका साथ उठाउने एजेण्डा तय गरेर भारत भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सीमा विवादबारे छलफल नै नगरी स्वदेश फर्किनुभएको छ ।

माघ १ गते नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नयाँदिल्ली जानुभएका परराष्ट्रमन्त्री ज्ञवाली माघ ३ गते अपराह्न स्वदेश फर्किनुभएको थियो । भारत भ्रमणमा जानुअघि उहाँले संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने’ सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो । तर, परराष्ट्रमन्त्री ज्ञवालीको भारतीय समकक्षीसँगको भेट र संयुक्त आयोगको बैठकमा सीमा विवाद र प्रबुद्ध व्यक्ति समूह (इपिजी)को विषयमा छलफल नै भएन ।

माघ २ गते आयोगको बैठकपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नयाँ नक्सा प्रकरणमा संवाद भएको र लिपुलेकसहितको नेपाली भूमि फिर्ताका विषयमा छलफलले प्रवेश पाएको विषयका बारेमा केही उल्लेख गरिएको थिएन । विज्ञप्तिअनुसार कोरोना भाइरसविरुद्धको खोपका विषयमा सहकार्य गर्ने, कनेक्टिभिटी, अर्थतन्त्र र व्यापार, ऊर्जा, तेल, ग्यास, जलस्रोत, राजनीतिक र सुरक्षाका मुद्दाहरू र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

बैठकमा भारतले भैरहवामा एकीकृत चेक पोस्ट चाँडै सुरु गरिने जानकारी गराएको थियो । त्यसैगरी, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालगायत संयुक्त जलविद्युत् परियोजनालाई अघि बढाउने विषयमा पनि छलफल भएको थियो । यससँगै मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको विस्तार र रक्सौल–काठमाडौं रेलमार्गका विषयमा पनि छलफल भएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उल्लेख थियो ।

स्वदेश फर्किने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबाट सकारात्मक प्रभाव देखिने अपेक्षा गरेको प्रतिक्रिया दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘विकास, निर्माण र समृद्धि हासिल गर्ने हाम्रो निरन्तरको प्रयासमा त्यसको सकारात्मक प्रभाव देखिनेछ भन्ने मैले अपेक्षा गरेको छु ।’

तर, परराष्ट्र विज्ञ र सीमाविद्हरूले भने तयारी विनाको भ्रमणमा परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदा नेपालको कमजोर अवस्था उजागर भएको प्रतिक्रिया दिनुभएको छ ।

पूर्व–परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भ्रमणबाट नेपाल–भारतबीच चिसिएको सम्बन्ध सुमधुरतर्फ गएको बताउनुभएको छ । हिमालय टाइम्ससँगको कुराकानीमा उहाँले नेपालले जारी गरेको नयाँ नक्सापछि चिसिएको सम्बन्ध मन्त्री ज्ञवालीको भ्रमणबाट सुमधुरतर्फ गएको बताउनुभएको हो । 

‘भ्रमणलाई मैले संवादहीन अवस्थाबाट संवादको अवस्थामा गएको रूपमा लिएको छु,’ पूर्व–परराष्ट्रमन्त्री डा. थापाले भन्नुभयो । तर, उहाँले तय भएका एजेण्डाहरूले बैठकमा प्रवेश नै नपाउनु राम्रो नभएको प्रतिक्रिया दिनुभयो । विवादित विषयमा छलफल नै नहुनुलाई सकारात्मक संकेतका रूपमा लिन नसकिने डा. थापाको भनाइ छ । 

‘गन्तव्यस्थानमा कसरी जाने भन्ने कुराहरू दुबै पक्ष मौन छन् । सीमाबारे प्रवेश नगर्नु राम्रो कुरो होइन,’ उहाँले भन्नुभयो, ‘विवादित विषयमा कुरा नै नहुनु भनेको सकारात्मक संकेत होइन । विवाद कायमै छ ।’

परराष्ट्रविद् डा. दिनेश भट्टराईले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा नेपाललाई कमजोर देखाउने काम भएको बताउनुभएको छ । हिमालय टाइम्ससँगको कुराकानीमा उहाँले केही दिनअघि सम्पन्न परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा नेपाललाई कमजोर देखाउने काम भएको बताउनुभएको हो । 

यद्यपि, डा. भट्टराईले मन्त्री ज्ञवालीको भ्रमणबाट संवादहीनताको नेपाल–भारतबीचको सम्बन्ध संवादको मार्गमा अघि बढेको बताउनुभयो । ‘नेपाल–भारतबीच जुन संवादहीनताको अवस्था थियो, त्यो संवादको मार्गतर्फ अघि बढेकोले यो सकारात्मक कुरा हो,’ उहाँले भन्नुभयो, ‘तर, यस्तो अवस्थामा तयारी बिनाको भ्रमणमा नेपाल कमजोर देखाउने काम भयो । के देखाउनलाई हो, तयारीबिना नै भ्रमणमा गएर नेपाल कमजोर देखिएको छ ।’

डा. भट्टराईले सीमासम्बन्धी विवादका मुद्दाहरू एकैदिनमा समाधान नहुने भए पनि भारतले सीमा विवाद समाधानका लागि नेपाल सरकारको कुरै सुन्न नचाहनु गम्भीर विषय भएको प्रतिक्रिया दिनुभयो । ‘सीमा विवादका मुद्दा एकैदिन समाधान हुने होइन,’ उहाँले भन्नुभयो, ‘तर, सीमा विवाद समाधानका कुरा सुन्न नै नचाहनु गम्भीर कुरा हो ।’

डा. भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटवार्ता नै गर्न इच्छा नदेखाउनुलाई अपमानका रूपमा लिनुभयो । ‘भारतबाट आउने कर्मचारी र जासुसी संस्थाका प्रमुखसमेत हाम्रो प्रधानमन्त्रीसँग घण्टौँ भेट गर्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘तर, नेपालका परराष्ट्रमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले भेट नदिनु अपमान र नरमाइलो भनेर मैले सम्झेको छु ।’

परराष्ट्रविद् भट्टराईले नेपालमा विकसित पछिल्लो राजनीतिक परिस्थितिमा भारतीय प्रधानमन्त्री मोदीले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटघाटका लागि समय उपलब्ध गराउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । ‘अहिलेको विशेष परिस्थिति थियो । यस्तो बेलामा भारतीय प्रधानमन्त्रीले भेट दिनु थियो । हाम्रो परराष्ट्रमन्त्रीले भ्रमणमा जानुअघि नै मिनिमम मापदण्ड नभई आउँदैन भन्नुपथ्र्यो,’ उहाँले भन्नुभयो । 

भारतका लागि पूर्व–राजदूत दीपकुमार उपाध्यायले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण गलत समयमा भएको टिप्पणी गर्नुभएको छ । उहाँले हिमालय टाइम्ससँगको कुराकानीका क्रममा नेपालको राजनीति तरल रहेको अवस्थामा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण भएको टिप्पणी गर्नुभएको हो । 

‘हामी कमजोर भएको समयमा यो भ्रमण भएको छ, यस्तो समयमा जान हुँदैनथ्यो,’ भारतका लागि पूर्व–राजदूत उपाध्यायले भन्नुभयो, ‘सरकारकै स्टाटस नभएको समयमा कामचलाउ सरकार चल्दैछ । यस्तो बेला भ्रमण उचित थिएन ।’

उहाँले मन्त्री ज्ञवालीको भ्रमण विदेशीले टेर्ने र परिणाम देखाउने कुरामा सकारात्मकसमेत नभएको बताउनुभयो । ‘संसद् विघटनको मुद्दा अदालतमा चलिरहेको समयमा विदेशीको पनि हामीलाई सहयोग छ भनेर देखाउनका लागि भ्रमण काम लाग्न सक्छ,’ उपाध्यायले भन्नुभयो, ‘विदेशीले टेर्ने कुरामा र परिणाम देखाउने कुरामा भने भ्रमण सकारात्मक हुन सकेन ।’

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणले कूटनीतिक संवादको सुरुवात हुनु भने सकारात्मक भएको उहाँको भनाइ थियो । ‘कूटनीतिक संवादले सुरुवात पायो भन्ने कुरा सकारात्मक हो,’ उपाध्यायले भन्नुभयो । उहाँले ज्ञवालीको भ्रमणअघि पनि हिमालय टाइम्ससँगको कुराकानीमा भ्रमणबाट धेरै अपेक्षा गर्न नहुनेमा जोड दिनुभएको थियो । 

उहाँले छलफल गर्नुपर्ने मुख्य दुई विषय सीमा र इपिजीका विषयमा छलफलले प्रवेश नै नपाउनु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले सचिवस्तरको वार्ता हुँदा सीमाबारे राजनीतिक तहमा वार्ता गर्ने भनियो । अहिले राजनीतिक तहको संवादका क्रममा यसको छुट्टै संयन्त्र छ भनेर पन्छियो । इपिजीको बारेमा पनि भारत विमुख हुँदै आएको छ,’ उपाध्यायले भन्नुभयो, ‘यो अहिले हुनेवाला पनि थिएन । तर, नहुनु दुःखद विषय हो ।’

सीमाविद् बुद्धिनारायण श्रेष्ठले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा एजेण्डामा परेको विषयमा संवाद नहुनु सकारात्मक नभएको बताउनुभएको छ । 

हिमालय टाइम्ससँगको कुराकानीमा उहाँले केही दिनअघि सम्पन्न परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका क्रममा एजेण्डामा परेको सीमासम्बन्धी विषयमा दुई देशबीच छलफल नहुनु सकारात्मक नभएको बताउनुभयो । 

‘भारतले सीमाको कुरा उठाएन । नेपालले उठाउन खोजे पनि भारत त्यसको संयन्त्र अलगै भएका कारण सचिवस्तरीय संयन्त्र र प्राविधिक संयन्त्रले काम गर्ने भनेर पन्छिएको पाइएको छ,’ सीमाविद् श्रेष्ठले भन्नुभयो, ‘एजेण्डामा परेको विषयमा संवाद नहुनु सकारात्मक हुन सक्दैन ।’ 

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल भ्रमणमा आउँदा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा सीमासम्बन्धी छलफल हुने संकेत गरेको स्मरण गर्दै उहाँले भ्रमणका क्रममा नेपालले प्रस्तुति राम्रो गर्न नसकेको पनि दाबी गर्नुभयो । 

‘भारतीय विदेश सचिव नेपाल आउँदा पनि परराष्ट्रमन्त्रीको भ्रमणमा सीमासम्बन्धी कुरा हुने संकेत गरेका थिए,’ श्रेष्ठले भननुभयो, ‘नेपालले यसमा आफ्नो प्रस्तुति राम्रो गर्न सकेन । हामीले नेपालबाट ‘पुस’ गर्न सकेनौं ।’


Views: 75