2nd March | 2021 | Tuesday | 6:48:26 AM

नेकपा प्रचण्ड–माधव पक्षले आज शक्ति प्रदर्शन गर्ने

  POSTED ON : माघ ९, २०७७ (९:३९ AM)

नेकपा प्रचण्ड–माधव पक्षले आज शक्ति प्रदर्शन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज (शुक्रबार) काठमाडौंमा विशाल विरोधसभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपा प्रचण्ड–माधव समूहले विरोधसभा गर्न लागेको हो । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोधसभाको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मीकि क्याम्पसलगायतका स्थानबाट जुलुस निस्किने बताउनुभयो । 

त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने उहाँको भनाइ छ । मुख्य जुलुस पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोधसभामा परिणत हुने नेता भट्टराईले जानकारी दिनुभयो । विरोधसभामा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने उहाँले बताउनुभयो ।

सहसंयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताउनुभयो । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताउनुभयो । संयोजक श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गर्नुभयो ।

जुलुसको नेतृत्व गर्ने नेताहरू र स्वयमंसेवकबीच समन्वय हुनुपर्ने नियम बनाइएको छ । जुलुसमा निर्धारित नाराहरू मात्रै लगाउन पाइने नियम छ । यो समूहले गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै आन्दोलन थालेको थियो । 

सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ । यही माघ ३ गते बसेको संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकले विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संगठन तथा जनसमुदायमा अपिल गरेको छ ।

प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजन भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ भने अर्को समूहको नतृत्व प्रचण्ड–माधवले गर्नुभएको छ । ओलीले नेतृत्वको नेकपा र प्रचण्ड र माधव समूहको नेतृत्वले पार्टीका विभिन्न जनवर्गीय संगठनको समानान्तर भेला र सभा गर्दै आएका छन् । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी, राप्रपा, विवेकशील साझालगायतका दलहरूले पनि सडकमै कार्यक्रम गरिरहेका छन् ।


Views: 60