17th April | 2021 | Saturday | 1:46:13 AM

निर्वाचन आयोगको निर्णयलाई लिएर 'ओली समूह' उत्साहित

हिमालय टाइम्स   POSTED ON : माघ १२, २०७७ (५:३९ PM)

निर्वाचन आयोगको निर्णयलाई लिएर 'ओली समूह' उत्साहित

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटलाई मान्यता दिन अस्वीकार गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली समूह उत्साहित देखिएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपामा देखिएको फेरबदललाई आधिकारिकता नदिएपछि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह उत्साहित देखिएको हो ।

आयोगको आइतबार बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड–माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई नमान्ने निर्णय गरेको थियो । आयोगले नेकपाको विधान र पदाधिकारी फेरबदल आपसमा नमिलेकाले आयोगले पहिलेकै पार्टी यथावतै रहने भनेको छ ।

आयोगले निर्णय गरेको २४ घण्टा नबित्दै ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीमा भएको फेरबदलका विषयमा निर्वाचन आयोगले गरेको निर्णय सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

माघ २३ गते हुन गइरहेको ‘बृहत जनसभा’ को तयारीका बारेमा जानकारी दिन वाग्मती प्रदेश संगठन कमिटीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आयोगको निर्णयबाट नेकपालाई कसैले फुटाउन नसक्ने पुष्टि गरेको बताउनुभयो ।

‘निर्वाचन आयोगले गरेको निर्णयलाई सम्मान गर्छौं । सकारात्मक लिन्छौं । हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यही कुरा नै आयोगले पनि भनेको छ,’ उहाँले भन्नुभयो, ‘हामी पार्टी फुटको पक्षमा रहेनौं । हामीले कसैलाई पनि कारबाही गरेनौं । आयोगको निर्णयले चाहेर पनि नेकपा फुटाउन सक्दैन भन्ने पुष्टि गरेको छ ।’

आयोगले पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित रुपमा गतिविधि गर्दै आएका नेकपाका दुबै पक्षले गरेका कुनै पनि निर्णय र कामकारबाहीले मान्यता नपाउने निर्णय गरेको छ । आयोगको उक्त निर्णयअनुसार ओली समूहले मनोनित गरेका केन्द्रीय सदस्यहरुले पनि मान्यता नपाउने भएका छन् ।

मनोनित सदस्यहरुबारे अब के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उपप्रधनमन्त्री पोखरेलले भन्नुभयो, ‘त्यो राजनीतिक निर्णय हो । त्यसलाई राजनीतिक रुपमै यथोचित व्यवस्थापन गरिन्छ ।’

उता नेकपाको प्रचण्ड–माधव समूहले भने निर्वाचन आयोगले गरेको निर्णयको आधिकारिक पत्र प्राप्त भएपछि मात्रै औपचारिक धारणा तय गर्ने राणनीति बनाएको छ । कोटेश्वरको पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोमबार सरकारविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा प्रचण्ड–माधव समूहले आयोगको आधिकारिक पत्र प्राप्त भएपछि मात्रै औपचारिक धारणा तय गरिने बताएको छ ।

‘निर्वाचन आयोगले गरेको भनिएको निर्णयको आधिकारिकताका बारेमा हामी पत्रको प्रतीक्षा गरिरहेका छौं,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ‘उहाँहरुको निर्णयको आधिकारिक प्रतिको जानकारी भइसकेपछि मात्रै पार्टीले आप्mनो औपचारिक धारणा तय गर्नेछ ।’

उहाँले आयोगले समयमै निर्णय गर्न नसक्नुमा आफूहरुको प्रश्न रहेको पनि बताउनुभयो । ‘तर, हामी के सोच्छौं भने दलको ऐनले एउटा स्पष्ट व्यवस्था गरेको सन्दर्भमा प्रारम्भमै निर्वाचन आयोगले सही ढंगले निर्णय प्रक्रियामा जानु उपयुक्त हुन्थ्यो र त्यसो किन गरिएन भन्ने प्रश्न हाम्रो छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।   

उहाँले स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन आयोगले कानुनसम्मत निर्णय गर्नुपर्ने भएका कारण आफूहरुको पार्टीनै आधिकारिक पार्टी भएको कुरामा विवाद नभएको दाबी गर्नुभयो । ‘संवैधानिक अंगको रुपमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष ढंगले कानुनसम्मत निर्णय गर्नुपर्ने भएको कारणले अन्ततः हाम्रो पार्टीनै आधिकारिक पार्टी भएको कुरामा कुनै विवाद छैन,’ श्रेष्ठले भन्नुभयो, ‘र, निर्वाचन आयोगले पनि त्यसमा फैसला गर्छ भन्नेमा कुनै दुविधा छैन । तर, अनावश्यक ढिलो गर्ने र आशंका पैदा गर्ने काम कुनै कोणबाट नहोस् भन्ने हामी चाहन्छौं ।’   


Views: 140