17th April | 2021 | Saturday | 3:15:14 AM

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति !

हिमालय टाइम्स   POSTED ON : माघ १२, २०७७ (६:२० PM)

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति !

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री के.पी. शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा आज जारी विज्ञप्तिमा फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार हो  भनिएको छ ।  प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेकोे अधिनायक आकांक्षालाई थप उजागर गरेको कांग्रेसले बताएको छ । विज्ञप्तिमार्फत कांग्रेसले कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ , भनेको छ ।

साथै कांग्रेसले भनेको छ–सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो । सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो । आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।

विज्ञप्तिमा कांग्रेसले प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेका बताउँदै आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको उल्लेख छ ।

 उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ । संसद विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।


Views: 87