17th April | 2021 | Saturday | 1:53:27 AM

संसद्मा सत्तापक्ष र प्रतिपक्षले कहिल्यै सरकारको विरोध गरेनन् : सभामुख

  POSTED ON : माघ १३, २०७७ (९:४९ AM)

संसद्मा सत्तापक्ष र प्रतिपक्षले कहिल्यै सरकारको विरोध गरेनन् : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा सत्तापक्ष र प्रतिपक्षले कहिल्यै सरकारको विरोध नगरेको बताउनुभएको छ । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद् सुचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको प्रष्ट पार्नुभयो । 

सभामुख सापकोटाले संसद्ले सरकारलाई सहयोग गरेन भन्ने प्रधानमन्त्री ओलीको कुरामा कुनै सत्यता नभएको उल्लेख गर्नुभयो । ‘संसद्मा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले सरकारको विरोध गरेनन्, संसद्मा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता छैन’, सापकोटाले भन्नुभयो– ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो, न वेल घेर्ने काम भयो । व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्न छलफलको वातावरण बनाउनका लागि हामीले भगिरथ मिहिनेत ग¥यौं ।’ 

सबै सांसदहरू र सचिवालयका कर्मचारीहरूले अहोरात्र खटेर अनुशासित भएर सदन सञ्चालन गरेको सापकोटाको भनाइ थियो । प्रतिनिधिसभाको अधिवेशन सुचारु गर्ने कुरामा सरकारले अवरोध गर्नु बेठिक भएको उहाँले बताउनुभयो । संसद्ले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने कुरामा कहिल्यै अवरोध नगरेको तर उल्टै सरकारले संसद् विघटन गरी प्रतिनिधिसभालाई सञ्चालन गर्न अवरोध गरेको सापकोटाले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘कार्यपालिकालाई कहिल्यै  असहयोग गरेको छैन् । यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ त्यो बेठिक छ ।’

संसद्ले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको प्रसंग उल्लेख गर्दै सभामुख सापकोटाले यस्तो अवस्थामा अवरोध सिर्जना ग¥यो भन्नु गलत भएको  बताउनुभयो । संविधान संशोधन गरी नक्सा पास गरेर सबैले अभूतपूर्व एकता देखाएको उहाँको भनाइ थियो । संसद् फेरि सुचारु गर्नुपर्ने भन्ने आवाज उठेको र यसबारे आफूले अध्ययन गरिरहेको सापकोटाले स्पष्ट पार्नुभयो । ‘संविधानविद्हरू, कानुनविद्हरू, विज्ञहरू, राजनीतिक पार्टीका नेताहरू अधिकांशले चिन्ताका साथ संसद् सुचारु हुनुपर्छ भन्ने आवाज उठाइरहेका छन्, यसलाई मैले गम्भीरतापूर्वक अध्ययन गरिरहेको छु, विश्लेषण गरिरहेको छु’, सभामुख सापकोटाले उल्लेख गर्नुभयो । कार्यपालिकालाई असहयोग नगरेको अवस्थामा सरकारले संसद् विघटन गरी प्रतिनिधिसभालाई अवरोेध गर्न नहुने उहाँको धारणा छ । 


Views: 85