13th April | 2021 | Tuesday | 7:53:29 PM

ओली र प्रचण्ड दुबैविरुद्ध उभिन सक्ने कांग्रेस बनाउने लक्ष्य छ : सभापति देउवा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७७ (६:०१ PM)

ओली र प्रचण्ड दुबैविरुद्ध उभिन सक्ने कांग्रेस बनाउने लक्ष्य छ  : सभापति देउवा

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ओली वा प्रचण्ड सबैकोविरुद्ध उभिन सक्ने कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताउनु भएको छ ।

आज नुवाकोट पार्टी कार्यालय भवन उद्धाटन समारोहमा बोल्दै सभापति देउवाले आफ्नै पार्टीका साथीहरु ओली र प्रचण्डको विरोध गर्न डराउने गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मैले त उतिबेलै भनेको हो कम्युनिष्टले जिते भने बोल्न पनि पाइँदैन । हाम्रो पार्टीका साथीहरू बल्लबल्ल ओलीको विरोध गर्न सक्ने हुनुभएछ । प्रचण्डको विरोध गर्न त अझै सक्नुहुन्न । प्रचण्डसँग किन डराएको हो कुन्नि ?’, देउवाले भन्नुभयो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको आरोप कांग्रेसकै नेताहरुले लगाइरहेका बेला देउवाले भन्नुभयो नेपालमा संविधान नमिच्ने कोही नभएको बताउँदै भन्नुभयो, ‘यो संविधान मैले पनि मिचेको छु भन्छन्, ओलीले पनि मिचेको छ भन्छन्,सबैले मिचेका छन्, नेपालमा संविधान नमिच्ने कोही छैनन् ।’

उहाँले ६ महिनाभित्र चुनाव नभए केपी ओलीलाई हटाउने भन्दै चुनाव हुँदैन भन्नेहरुमा पराजित मानसिकता रहेको समेत बताउनु भायो । चुनाव हुँदैन भनेर भ्रम फैलाइएको भन्दै कांग्रेसले तयारी नगरे फेरि हार्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो–चुनाव हुन्छ, चुनाव हुन्छ, चुनाव हुन्छ । अदालतले जे फैसला गर्छ त्यो नमान्ने हो भने हामीले पनि प्रचण्डले जस्तै धम्क्याउने ?’

सर्वोच्च अदालतमाथि विश्वास गर्न नेताहरुलाई आग्रह गर्दै उहाँले संविधान बुझेका विद्वान पार्टीभित्र र बाहिर धेरै भएपनि संविधानको व्याख्या सर्वोच्च अदालतले मात्रै गर्नसक्ने बताउनु भयो ।

 सभापति देउवाले अदालतको निर्णय आफूलाई स्वीकार्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अदालतलाई धम्क्याउने कुरा छैन । अदालतले संसद पुनःस्थापना ग¥यो भने संसदमा जाने हो, गरेन भने चुनावमा जाने हो’ ।


Views: 85