13th April | 2021 | Tuesday | 7:44:01 PM

प्रदेश सरकार संकटमा – प्रदेश २ प्रदेश प्रमुख बर्खास्तीको कारण के होला ?

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७७ (६:५० PM)

प्रदेश सरकार संकटमा – प्रदेश २ प्रदेश प्रमुख बर्खास्तीको कारण के होला ?

काठमाडौं । संसद विघटनको विन्दुमा आइपुगेको नेकपाको आन्तरिक विवादले पार्टी विभाजनसँगै प्रदेश सरकारमाथि पनि संकट आइपरेको छ । 

गत पुस ५ गते संसद विघटन भएपछि राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित नेकपाको आन्तरिक विवादले प्रदेश सरकार संकटमा परेको हो । बागमती र प्रदेश नम्बर १ मा मुख्यमन्त्री विरुद्ध सत्तारुढ दलकै सांसदहरुले अविश्वासको प्रस्ताव संसदमा पेश गरेपछि बैठक अनिश्चित बनेको छ । भने, २ नम्बर प्रदेशमा प्रदेश प्रमुख नै बर्खास्तीमा परेका छन् । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुख तिकल परियारलाई पदमुक्त गर्नुभएको हो । शुक्रबार राष्ट्रपति भण्डारीले परियारलाई पदमुक्त गरेर डा. राजेश झालाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताउनुभयो । नेपालको संविधानको धारा १६५ को उपधारा १ अनुसार प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएपनि कुनै कारण भने खुलाइएको छैन् । संविधानको सो धारामा प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले पदमुक्त गरेमा पद रिक्त हुने उल्लेख छ ।

परियार पूर्व माओवादीको कोटाबाट प्रमुख भएका व्यक्ति हुनुहुन्छ । कतिपयले पुष्पकमल दाहाल माधवकुमार नेपाल पक्षलाई ‘सबक’ सिकाउन प्रधानमन्त्री समेत रहनुभएको ओली समूहको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यस्तो कदम चालेको विश्लेषण गर्न थालेका छन् । 

बर्खास्तीका यी २ कारण !

परियारको बर्खास्तीपछि विभिन्न विश्लेषण हुन थालेको छ । दाहाल नेपाल समूहको नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत प्रमुख फेरबदलको विरोध जनाएसँगै ओलीको यो कदमलाई विभिन्न कोणबाट हेर्न थालिएको छ । 

परियार बर्खास्तीमा पर्नुको एउटा कारण नेकपाको आन्तरिक विवाद र अर्को कारण नेपाल रेल्वेका महाप्रवन्धक गुरुप्रसाद भट्टराईसँगको कनेक्सन हुन सक्ने विश्लेषकहरु बताउन थालेका छन् । 

तत्कालिन समयमा दाहालको कोटाबाट नियुक्ति पाउनुभएका परियार नेकपाको राजनीतिक विभाजनको चेपुवामा पर्नुभएको हो । उहाँ स्वयमले संघमा पार्टीभित्र देखिएको आन्तरिक द्वन्दका कारण आफुलाई बर्खास्त गरिएको हुन सक्ने बताउनुभएको छ । राजनीतिक प्रतिसोधका लागि आफुलाई पदबाट हटाइएको हुने सक्ने उहाँले बताउनुभयो । 

त्यसो त, परियारका स्वकीय सचिव अनिल पासवान र नेपाल रेल्वेका महाप्रबन्धक गुरुप्रसाद भट्टराईबीच भएको कुराकानीको एउटा अडियो बाहिरिएको थियो । सो अडियोमा भएको बादविवादको कारण पनि अहिलेको अवस्था आएको हुन सक्ने नेकपा दाहाल नेपाल समूह निकट एक नेताले बताउनुभयो । 

भट्टराई र पासवानबीच टेलिफोनमै ठूलो चर्काचर्की भएको थियो । अडियोमा चर्को आरोप—प्रत्याआरोपमा उत्रिएका पासवान र भट्टराईबीच शक्ति र नेताको आडमा ठूलै बादविवाद भएको थियो । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले म रेलवेको महाप्रबन्धक हुँ बर्दिबास मेरो घर हो तिमीलाई एक घण्टामै अपहरण गराई दिन्छु, भन्नुभएको छ । कुराकानीका क्रममा दुवैबीचको चर्काचर्कीमा अश्लील गालीगलौजसमेत भएको छ ।

सोही कुरा पुष्टि हुने आधार भट्टराई आफैले दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा ‘आफुलाई बदनाम गराउने खेताला लगाउने यिनै हुन भन्दै’, ‘टिट फर ट्याट’ भनेर लेख्नुभएको छ । 

परियार पदमूक्त भएलगत्तै भट्टराईले फेसबुकमा स्टाटस लेख्नुभएको हो । लेखेको केही बेरमै हटाइएको फेसबुक स्टाटसमा लेखिएको छ, ‘प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त । मलाई बदनाम गराउन खेताला लगाउने यिनै हुन । यस्ता माननीयको पनि समय आएपछि हिसाब किताब हुन्छ भनेर अस्ति मात्रै मैले भनेको थिए । राजकीय पदमा बसेर सबै अराजकिय दबाब आउनेहरु ओली सरकारमा टिक्न गाह्रो छ । अपराधिहरुले बेलैमा बुझ्दा राम्रो । टिट फर ट्याट !!’

दाहाल समूह भन्छः ओलीले फाँसीवादी चरित्र देखाए

प्रदेश प्रमुख बर्खास्तीको घटनालाई दाहाल नेपाल समूहले ओलीको फाँसीवादी चरित्रको रुपमा टिप्पणी गरेको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रैष्ठले प्रदेश प्रमुखको बर्खास्तीसँगै ओलीको छिट्टै पतन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओली फाँसीवादी चरित्रअनुसार अगाडी बढनुभएको छ । यसले उहाँको छिट्टै पतन हुन्छ ।’

पेरिसडाँडामा सम्पन्न केन्द्रीय समिति बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओली नेतृत्वको सरकार असंवैधानिक ढंगले बलमिच्याइँपूर्ण काम गरिरहेको बताउनुभयो । उहाँले केही दिनमा नै ओली सरकारको आचारणलाई तह लगाउने पनि उल्लेख गर्नुभयो ।

कांग्रेसको पनि विरोध

नेपाली कांग्रेसले प्रदेश प्रमुखको बर्खास्तीप्रति विरोध जनाएको छ । सरकारको नैतिक आचरणले समेत बर्खास्ती र नियुक्ति गर्न सरकारलाई नदिने भन्दै कांग्रेसले ओली सरकारले आपत्तिजनक काम गरिरहेको बताएको छ । 

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी जारी गर्दै प्रदेश नम्बर २ मा गरिएको प्रदेश प्रमुख फेरबदलको कदमको कांग्रेसmले विरोध र भत्सर्ना गरेको बताउनुभएको छ । 

विज्ञप्तीमा भनिएको छ, ‘अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ’ 

कांग्रेसले सरकारको स्वेच्छाचारी कदम रोक्न पनि चेतावनी दिएको छ । विज्ञप्तीमा भनिएको , ‘स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।’

‘म माथि पनि कू भएको महसुस भएको छ’

बर्खास्तीमा पर्नुभएको परियारले आफुमाथि कू भएको बताउनुभएको छ । सरकारले कू गरेर संसद विघटन गरेजस्तै गरी आफुमाथि पनि कु गरेको उहाँले बताउनुभयो । हामीसँग छोटो कुराकानी गर्दै परियारले भन्नुभयो, ‘म माथि कू भएको महसुस भएको छ । सरकारले जसरी कू गरेर संसद विघटन ग¥यो । त्यसरी नै म माथि पनि कू भएको हुन सक्छ ।’ 

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त गरेपछि मात्रै आफु पदमूक्त भएको थाहा पाएको उल्लेख गर्नुहुँदै उहाँले पार्टीमा देखिएको फुटका कारण आफुलाई हटाएको हुन सक्ने बताउनुभयो । 

को हुन् परियार, को हुन झा?

राजनीतिक शास्त्रमा बिए उत्तिर्ण परियार २०२१ सालमा राजनीतिक प्रवेश गर्नुभएको थियो । २०३३ सालबाट राजनीतिमा सक्रिय  संविधान सभा सदस्य भएर संविधान निर्माणमा सहभागी भएका व्यक्ति हुनुहुन्छ । परियार बाँके जिल्लाको कोहलपुरका स्थायी बासिन्दा हुनुहुन्छ । माओवादी सशस्त्र संघर्षमा लागेर उहाँ २०५८ सालदेखि ०६३ सालसम्म भूमिगत रहनुभएको थियो । ०२८ देखि ०४२ सालसम्म निर्वासनको जीवन पनि उहाँले विताउनुभयो । 

नवनियुक्त प्रमुख झा रौतहटका स्थानीय हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट मधेश मामिलामा विद्यावारिधी गर्नुभएको झा रौतहटको गढीमाई नगरपालिका–३ सुन्दरपुरका स्थानीय हुनुहुन्छ । त्यहाँ उहाँले मधेशवाणी पत्रिकाको सम्पादकका रुपमा पत्रकारितासमेत गर्दै आइरहनुभएको छ । मधेशवाणी पत्रिकामा तत्कालीन जनतान्त्रिक मधेशी मुक्ति मोर्चाको सैन्य भर्ना सम्बन्धी विज्ञापन छापेपछि उहाँमाथि राज्यद्रोहको मुद्दा चलाइएको थियो । पछि भने उहाँले सफाइ पाउनुभएको थियो ।


Views: 69