17th April | 2021 | Saturday | 1:05:22 AM

पेरिसडाँडाबाट प्रचण्डको निर्देशन, ‘जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहनू’

  POSTED ON : फाल्गुन ८, २०७७ (१०:३६ AM)

पेरिसडाँडाबाट प्रचण्डको निर्देशन, ‘जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहनू’

काठमाडौं । संसद् विघटनपछि नेकपा ओली समूह कडारूपमा प्रस्तुत थालेपछि प्रचण्ड–माधव समूहले कार्यकर्ताहरूलाई जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठकमा शीर्ष नेताहरूले कार्यकर्ताहरूलाई पलपलमा तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । 

अहिलेको राजनीतिक परिस्थिति तरलताको अवस्थामा रहेकाले जतिबेला जे पनि हुनसक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तलाई शीर्ष नेताहरूले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताउनुभयो । 

संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली हरेक अवस्था पार गर्दै आफू विजयी हुने बाटो रोजेकाले अवस्था जतिबेला जे पनि हुन सक्ने अध्यक्षद्वय दाहाल नेपालको निष्कर्ष छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा संविधानको रक्षा गरिने वाचासमेत गर्नुभयो । 

कामचलाउ ओली सरकारले कानुनविपरीत ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप जारी राखेको आरोप लगाउँदै श्रेष्ठले भन्नुभयो, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रूपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।’

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षा पनि गरेको छ । आन्दोलनको संघर्षमा सत्तासीन गुटबाहेक सिंगो देश एकताबद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्यांकन बैठकले गरेको बताउनुभयो । सर्वोच्च आदालतले पनि संविधानसम्मत ढंगले निर्णय गर्ने विश्वास बैठकले गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधानसम्मत ढंगले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गरेको छ ।’

सडक संघर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानुनी लडाइँसमेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक संघर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिंगो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आयोगप्रति असन्तुष्टि

प्रचण्ड–माधव समूहले आफ्नो समूहमा बहुमत सदस्य हुँदैहुँदै पनि निर्वाचन आयोगले आधिकारिकता दिन ढिलाइ गरेकोप्रति असन्तुष्टि जनाएको छ । केन्द्रीय सदस्यहरूको भेलापछि प्रवक्ता श्रेष्ठले आफूहरू आयोगको कामप्रति सन्तुष्ट नरहेको बताउनुभयो । आयोगले निर्णय गर्न ढिलाइ गरे पनि कानुनअनुसार नै निर्णय गर्छ भन्नेमा आफूहरू विश्वस्त रहेको उहाँले बताउनुभयो । ‘निर्वाचन आयोगले ढिलाइ गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तर, पनि संवैधानिक अंगहरू सबैले संविधान र कानुनअनुसार ढिलोचाँडो सही फैसला गर्नेछन् भन्ने अपेक्षा गर्दछौं’, उहाँले भन्नुभयो ।

पार्टी एकीकरणका काम छिट्टै पूरा गर्ने

बैठकले पार्टी एकीकरणका बाँकी काम छिट्टै टुंगोमा पु¥याउने विषयमा पनि छलफल गरेको छ । एकीकरणको कामलाई पूर्णता दिने जिम्मेवारी पाएका कमिटीहरूलाई तत्काल बाँकी काम सम्पन्न गर्न निर्देशन भएको उहाँले बताउनुभयो । प्रदेश कमिटीका पदाधिकारीहरूको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरूको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पूरा गर्ने विषय केही दिनभित्रमा पूर्ण गरिने उहाँले बताउनुभयो । त्यसका प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्षद्वयले गराउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

२८० नागरिकता संकलन !

नेकपा (प्रचण्ड–माधव) समूहमा बहुमत केन्द्रीय सदस्य देखिएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा भएको अनौपचारिक बैठकमा बहुमत सदस्यहरू खुलेका हुन् । नेकपाको कुल ४४३ केन्द्रीय सदस्यमध्ये २८० भन्दा बढीले नागरिकता तथा परिपत्र बुझाएको नेता श्रीराम ढकाल प्रशान्तले बताउनुभयो । 

‘साथीहरू आउने क्रम जारी छ । अहिलेसम्म औचारिक रूपमा २८० भन्दा बढी साथीहरूले आफ्नो परिचयपत्र तथा नागरिकता स्क्यान गरेर बुझाउनुभएको छ । केही साथीहरू अस्वस्थ भएका कारण आउन सक्नुभएन । अझै आउने क्रम जारी छ’, हिमालय टाइम्ससँगको कुराकानीमा उहाँले भन्नुभयो । 

उहाँले पार्टी कार्यालयमा जम्मा गरिएको नागरिकताको प्रतिलिपि आवश्यक परेमा निर्वाचन आयोगमा बुझाउनेसमेत बताउनुभयो । 

आयोगले प्रचलित नियम, कानुन र अहिलेसम्मको अभ्यासअनुसार निर्णय गर्नेमा आफूहरू ढुक्क रहेको उल्लेख गर्दै उहाँले आवश्यक परेमा सबै सदस्यहरूका परिचयपत्र आयोगमा बुझाएर सनाखतका लागि सशरीर उपस्थित गराउन आफूहरू तयार रहेको बताउनुभयो । 


Views: 67