13th April | 2021 | Tuesday | 7:14:15 PM

संगठनभित्र बराबरी भाग लगाउने प्रचण्ड र माधव नेपालबीच सहमति

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ९, २०७७ (५:४२ PM)

संगठनभित्र बराबरी भाग लगाउने प्रचण्ड र माधव नेपालबीच सहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ ।

नेकपामा प्रचण्ड–नेपाल पक्षले पार्टी तथा भातृ र जनवर्गीय संगठनहरूमा बराबर हैसियत हुने गरी पूर्णता दिन लागेका छन्।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादीबीच एकता हुँदा तत्कालीन एमालेले आफूलाई ६० र माओवादीलाई ४० प्रतिशत हिस्सा दिएर संगठनलाई पूर्णता दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्। ओली पक्ष संसद विघटनको पक्षमा छ भने प्रचण्ड–नेपाल पक्ष संसद पुनस्र्थापनाको पक्षमा आन्दोलनरत छ ।

व्यवहारमा दुई समूह देखिए पनि कानुनतः नेकपा फुटिसकेको छैन। विभाजित नेकपाले आ-आफ्नो संगठनलाई पूर्णता दिने काम गरिरहेका छन्।

२० पुसमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम टुंग्याउन भन्दै अध्यक्ष माधव नेपालको अध्यक्षतामा कार्यदल बनाएको थियो । नेताहरुको व्यस्तता कारण देखाउँदै कार्यदल तोकिएको समयभन्दा केही ढिला सहमतिमा पुगेको हो ।

स्थायी कमिटी सदस्य एवम् कार्यदल सदस्य गिरिराजमणि पोखरेलले पार्टी एकीकरणका काम टुंग्याउन ९ बुँदे मापदण्डमा सहमति बनेको जानकारी दिनुभयो ।

उक्त मापदण्ड अनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा ५०–५० प्रतिशत भाग लगाउने सहमति बनेको हो । साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गरिने छ ।


Views: 73